विराटनगर २५ मंसिर । विराटनगरमा नेपालकै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्ट्स जोनले सञ्चालनमा ल्याउन लागेको एकाडेमीको औपचारिक शुरुवात आगामी शनिबार मंसिर २७ देखि हुने भएको छ ।
कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्य सहित विराटनगर विराट स्पोर्ट्स जोनले नेपालकै ठुलो क्रिकेट एकाडेमी सञ्चालनमा ल्याउने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
बर्षभरिनै क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने तयारी सहित एकाडेमी सञ्चालनको तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष हरि बजगाइँले जानकारी दिनुभयो । क्रिकेट प्रशिक्षकमा राष्ट्रिय/अन्तर्रारष्ट्रिय स्तरका खेलाडीहरु रहेको उहाँले बताउनुभयो ।
विराटनगर ३ दुधफारम पूर्व ३० कठ्ठा क्षेत्रफलमा तयार गरिएको स्पोर्ट्स जोनमा ७ वटा खेलकुदका गतिविधिहरु सञ्चालन हुने छन् । जसमा फुटसल, क्रिकसल, स्केटिङ, गो–कार्ट, ब्याडमिन्टन, पिकल बल र टेवल टेनिसका खेलहरु हुने स्पोर्ट्स जोनका सचिव नवराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुशार स्पोर्ट्स जोनमा क्रिकेट एकाडेमीसँगै गो–कार्ट आकर्षकको केन्द्र रहेको छ । यसअघि गो–कार्ट काठमाण्डौं र पोखरामा सञ्चालन गरिएको थियो ।
अध्यक्ष बजगाइँ, सचिव काफ्ले सहित ७ जनाको ५ करोड लगानीमा स्पोर्ट्स जोन तयारी गरिएको छ । आगामी दिनमा जोनलाई सुरक्षित, आकर्षक र अन्र्तराष्ट्रिय स्तरको खेलकुद केन्द्रका रुपमा विस्तार गर्ने तयारी रहेको जोन सञ्चालक समितिका अध्यक्ष बजगाइँले जानकारी दिनुभयो । उहाँका अनुशार अन्तर्राष्ट्रिय मापदण्ड अनुशार निर्माण गरिएको नेपालकै व्यवस्थित र ठुलो क्रिकेट एकाडेमी स्पोर्ट्स जोनको मुख्य आकर्षक हो ।
आधुनिक, भौतिक संरचना, योग्य प्रशिक्षक र व्यस्थित प्रशिक्षण सुविधासहित क्रिकेट प्रतिभा विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको अध्यक्ष बजगाइँले बताउनुभयो । स्पोर्ट्स जोनमा फुटवल, तेक्वान्दो र स्केटिङ प्रशिक्षणगराउने उहाँले बताउनुभयो । आगामी दिनमा स्वीमिङ पुल, इन्डोर गेमिङ जोन लगायतका आधुनिक पूर्वाधार थप गरिने सञ्चालक समितिका सचिव काफ्ले बताउनुभयो । उहाँका अनुशार विराट स्पोर्ट्स जोनमा नाम दर्ता गराउने पहिलो ५० जना महिला खेलाडीका लागि निःशुल्क खेल सुविधा रहेको छ ।
जोन भित्र शतप्रतिशत शाकाहारी क्याफे पनि रहेको छ । स्पोर्ट्स जोनमा शुरुवाती चरणमा २५ जना जनशक्ति रहेको सचिव काफ्लेले जानकारी दिनुभयो ।
