प्रहरीले भन्यो–अंशु हत्याको कारण यौन उद्देश्य, पारिवारिक विवाद र प्रतिशोध

विराटनगर २१ मंसिर । मोरङ प्रहरीले दुई महिनापछि लेटाङ २ फडानीकी १२ बर्षीया अंशु गौतमको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले गौतमका छिमेकी ५९ बर्षीय पदमबहादुर अधिकारीलाई शुक्रबार घरबाटै पक्राउ गरि आईतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

लामो अनुसन्धानपछि प्रहरी हत्यमा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको थियो । घटनाको मोरङ प्रहरी, प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान व्युरोले संयुक्त अनुसन्धान गरेको थियो । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्नको पहिचानमा देखिएको समस्या जस्तो हुन नदिनका लागि विभिन्न अनुसन्धान गरेको प्रहरी श्रोतको भनाई   छ ।

बालिकाले मोवाइल नबोक्नु र घटनाका प्रत्यक्षदर्शी नहुँदा प्रहरीलाई अनुसन्धानमा जटिलता देखिएको थियो । प्रहरीले शव सडेको अवस्थामा फेला परेका कारण जंगलीजनावरको आक्रमण भएको हुन सक्ने पनि बताउँदै आएको थियो । प्रहरीले विभिन्न विधिको प्रयोगका कारणले घटनामा संलग्नको पहिचानमा सजिलो भएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी कविन कट्वालले हत्याको कारण यौन उद्देश्य, अधिकारी र गौतम परिवारवीचको विवाद र प्रतिशोध रहेको पाईएको बताए ।

कसरी भयो हत्या ?
पदम बहादुरको अंशुका छिमेकी हुन । बालिकाका बुवा नविन गौतमसँग लामो समयदेखि पारिवारिक रिसइवी थियो । गत असोज २१ गते अंशु उनकी साथी युरिका महतरासँग घर नजिकैको स्कुल नजिक खेलिरहेकी हुन्छिन । युरिकालाई खोज्न पदम बहादुरले युरिकालाई भन्छन् ।

युरिकाले पैसा माग्छिन् । ५ रुपैयाँ दिएर उनले अंशुलाई खोज्न पठाउँछन् । उनले खोजेर ल्याएपछि अधिकारीले घाँस काट्न सहयोग माग्छन् । उनी तयार हुन्छिन् । पैदल नै जगलको मुख सम्म आउन भनेर उनी हिँडछन् । उनी जंगलमा अंशुलाई पर्खिएर बसेका हुन्छन् ।

अंशु आएपछि साईकलको पछाडी राखी साढे ४ किलोमिटर भित्र घना जंलगमा पुर्याउँछन् । त्यहाँ बलात्कारपछि घाँटी थिचेर, हँसियाले रेटेर हत्या गर्छन ।

हत्यामा संलग्न कसरी पक्राउ परे ?
घरबाट बेपत्ता भएको १८ दिनपछि प्रहरीले अंशुको शव सडेको अवस्थामा फेला पार्छ । शव फेला परेको ११ दिनपछि पदमबहादुर एकाएक कमाउन जाने भन्दै भारत जान्छन् । जबरजस्ती करणी मुद्दामा जेल परेका पदमबहादुरका छोरा कात्तिक १८ गते कैद भुक्तान गरेर घर फर्किन्छन ।

छोरा आएको भोलिपल्टै कात्तिक १९ गते पदमबहादुर ‘कमाउन जान्छु’ भन्दै कसैसँग सल्लाह नगरी हतारमा भारतको मेघालयतिर जान्छन् । छोरा जेलबाट छुट्नु र बाबु लगत्तै भाग्नुलाई प्रहरीले गम्भीरतापूर्वक लियो । प्रहरीले हत्यामा संलग्नको पहिचान गर्नका लागि लामो अनुसन्धान गरेको छ ।

करिव ३ सय व्यक्तिहरुसँग सोधपुछ तथा ‘सोसियल प्रोफाइल’ बनाएको छ । ५४ व्यक्तिहरुको लिखित कागज पनि प्रहरीले गराएको थियो । प्रोफाइल तयार गर्ने क्रममा पनि पदमबहादुरको पुराना घटनाहरु प्रहरीले फेला पारेको थियो ।

भारतको मेघालयमा गाई फर्ममा काम गर्न थालेका अधिकारीलाई प्रहरीले आफन्त मार्फत घर बोलाउने प्रयास ग¥यो । सुरुमा आनाकानी गरे पनि उनी घरबाट हिँडेको एक महिनापछि मंसिर १८ गते घर फर्किए । नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुरुमा उनले इन्कार गरेका थिए ।

भारतमा गाई दुहुने क्रममा बाल्टीमा रगत देखेपछि उनलाई अंशुको हत्या गरेको बीभत्स दृश्य याद आएको र निकै आत्मग्लानी भएको प्रहरी समक्ष बयान दिएको प्रहरी श्रोतको भनाई छ ।

अनुसन्धानका क्रममा घरपरिवार, विद्यालय, झैझगडा, रिसइवीको सूचना संकलन तथा शुक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण, वनमा घाँसदाउरा गर्न जाने सम्पूर्णव्यक्तिहरुको सुक्ष्म अनुसन्धान, घटनापछि गाउँछाडेका व्यक्तिहरुको अनुसन्धान गरिएको प्रहरी प्रमुख कवित कट्वालले बताए ।

कानुनी कारवाही के हुन्छ ?
अधिकारीविरुद्ध प्रहरीले जबरजस्ती करणी र ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान संवन्धि कसुर अन्र्तगत दफा १७७ र परिच्छेद १८ करणी सम्वन्धी कसुर अन्तरगत जवरजस्ती करणी गर्न नहुने दफा २१९ मा कारवाही र परिच्छेद ५ को दफा ४१ को उपदफा (क) एवं (च) बमोजिम कारवाही हुने छ ।