विराटनगर– विराटनगर १४ को जनता बाल आधारभूत विद्यालयले कक्षा सञ्चालनका लागि नजिकका निजी विद्यालयका विद्यार्थी जवरजस्ती ल्याएको भन्दै मुद्धा परिरहन्थ्यो ।
विद्यालयका प्रधानाध्यापकलाई पठन पाठन, विद्यालय प्रशासन सञ्चालन भन्दा पनि मुद्धा मामिलामा धाहिरहनु पथ्र्यो ।
सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने, निजीमा बढ्ने क्रम थियो । सामुदायिक विद्यालय सञ्चालनका लागि निजीका विद्यार्थी ल्याएको आरोपमा विद्यालय विरुद्ध मुद्धा परिरहन्थ्यो । निजी विद्यालय सञ्चालकहरु जनता बालआधारभूतबाट हैरान बनेका थिए ।
अहिले ठिक उल्टो भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी खचाखच भएका छन् । नजितकका निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।
जनता बाल आधाभूत विद्यालमा पछिल्लो वर्षहरुमा विद्यार्थी सख्या बढ्दै जाँदा कक्षा कोठाको अभाव हुन थालेको छ ।
तीन वर्षको अवधिमा तीन सय भन्दा बढी विद्यार्थी थपिएका छन् । २०७९ सालमा दुई सय विद्यार्थी रहेका सो विद्यालयमा अहिले ५३७ विद्यार्थी पठनपाठन गरिरहेका छन् ।
शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठन, अतिरिक्त क्रियाकलाप, परीक्षा प्रणालीमा सुधार गर्दै विद्यालय र अभिभावक बीचको सम्बन्धलाई सुमधुर बनाउँदा जाँद वर्षेनी विद्यार्थी सङ्ख्या बढेदै गएको विद्यालयका प्रधानध्यापक राजेश यादवले बताउनुभयो ।

तीन वर्ष अघि आफू उक्त विद्यालयमा सरुवा भइ आएपछि पठनपाठन नियमित गरि त्रैमासिक परीक्षामा सुधार गर्न थालेपछि विद्यालयमा विद्यार्थी सङ्ख्या थपिदै गएको प्रधानध्यापक यादवको दाबी छ ।
सरकारी विद्यालयमै पठनपाठनमा सुधार भएपछि बोर्डिङ स्कुलमा पढिरहेका आफ्ना छोराछोरीलाई स्थानीयले जनता बाल आधारभूत विद्यालयमा पठनपाठन गराउन थालेका छन् ।
स्थानीय भगवती विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुलमा पठाउँदै गरेको आफ्नो छोरी सोही जनता बाल आधारभूत विद्यालयमा पढाउन थालेको स्थानीय मनोज महतो बताउनु हुन्छ ।
मनोजको छोरी दिपीका अहिले सोही विद्यालयमा कक्षा ४ अध्ययरत छात्रा हुन् । स्थानीय भोला महतोले पनि कक्षा ४ मै अध्ययनरत आफ्नो छोरी दिक्षालाई स्थानीय श्रीराम मावि बोर्डिङ स्कुलबाट निकालेर सोही विद्यालयमा भर्ना गरिदिएकाछन् ।
यसरी अन्य स्कुलबाट समेत विद्यार्थीहरु आउन थालेपछि अहिले जनता बाल आधारभूत विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दै गएको छ ।
कुल आठवटा मात्र कक्षा कोठा रहेको उक्त विद्यालयमा विद्यार्थी सङख्या बढी भएपछि बाल विकासका दुई वटा कक्षा सञ्चालन भइरहेका छन् । बाल विकास बाहेक अन्य कक्षामा पनि ६० जना भन्दा बढी विद्यार्थी पठनपाठन गरिरहेका छन् ।
पछिल्ला वर्षहरुमा प्रत्येक कक्षामा विद्यार्थीको चाप बढ्दै गएपछि विद्यार्थीको बसाई व्यवस्थापन गर्न गार्हो हुँदै गएको छ । विद्यालयका जग्गा समेत थोरै भएकाले नयाँ भवन बनाएर कक्षाकोठा बढाउन समेत समसया रहेको विद्यालयका प्रधानध्यापक यादव बताउनुहुन्छ ।
यसरी केही वर्ष अघिसम्म विद्यार्थीको अभाव भोगिरहेको उक्त विद्यालय अहिले विराटनगर महानगरपालिका भित्रकै नमूना आधारभूत विद्यालयको सूचीमा परेको छ ।
अहिले धेरै विद्यार्थी भएको आधारभूत विद्यालय देखाउनुपर्दा महानगरले सोही विद्यालय देखाउने गरेको विद्यालयका शिक्षकहरु बताउनुहुन्छ ।
विगतको भन्दा पठन पाठनमा धेरै सुधार भएको विद्यार्थीहरुले बताएका छन् ।
