विराटनगर ४ मंसिर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बालबालिकाका लागि पर्याप्त लगानी पुग्न नसकेको स्वीकार गर्नु भएको छ ।
बालबालिकाको क्षेत्रका लागि जति लगानी आवस्यक छ, त्यो हुन नसकेको उहाँको भनाई छ ।
सिविन नेपाल विराटनगरको व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा ३६ औं अन्तराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज विराटनगरमा आयोजित निवन्ध प्रतियोगिता र बक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्दै मन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले प्रदेश सरकारले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ‘बालविवाह अन्त्यका लागि बालबालिकाको भूमिका’ विषयक प्रदेश स्तरिय निवन्ध प्रतियोगितामा प्रथम हुने सगरमाथा जनता मावि ओखलढुङ्गाकी रोशनी राई, दोश्रो हुने मनकामना मावि, ओखलढुङ्गाकी शिक्षा अधिकारी र तेश्रो हुने बुढानिलकण्ठ स्कुल विराटनगरकी सरश अधिकारीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताका प्रथम, दोश्रो र तेश्रो हुनेलाई १० हजार, ७ हजार र ५ हजार नगद प्रदान गरिएको थियो ।
लागुपदार्थले बालबालिकामा पार्ने असर र निराकरणका उपाय विषयक बक्तृत्वकला प्रतियोगितामा प्रथम हुने हाम्रो बृद्धाश्रम दमक, झापाका प्रज्वल तामाङ, दोश्रो हुने साझा सेवा घर उदयपुरका चेस राई र तेश्रो हुने नमूना बाल कल्याण गृह उर्लाबारी, मोरङका पारस ढुङ्गानालाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई क्रमश ७ हजार, ५ हजार र ३ प्रदान गरिएको थियो ।
बक्तृत्वकला प्रतियोगितामा कोशी प्रदेशका बालकल्याण गृहका बालबालिकालाई मात्रै सहभागि गराईएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव उद्धव रिजाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, गैसस महासंघ कोशीका अध्यक्ष लखनलाल साह, सिविन विराटनगरका प्रमुख बासु अधिकारी, प्रतियोगितामा उत्कृष्ट भएका बालबालिकाहरु रोशनी राई, प्रज्वल तामाङ र सरश अधिकारीले बोलेका थिए ।