विराटनगर २७ कात्तिक । नेकपा एमाले मोरङले कार्तिक २९ गते आयोजना गर्ने मोटरसाइकल र्यालीको तयारी तीव्र पारेको छ । जिल्लाव्यापी रूपमा गर्ने मोटरसाइकल रलीको तयारी तीव्र पारिएको नेकपा एमाले मोरङका उपसचिव सन्तोष बान्तवा राईले जानकारी दिनुभयो ।
आज विराटनगर स्थित नेकपा एमाले पार्टी कार्यालय पञ्चालीमा आयोजित तयारी बैठकमा बोल्दै नेकपा एमाले मोरङका सचिव सोमराज थापाले उत्तरी क्षेत्रमा मोरङको मिक्लाजुङबाट र दक्षिण क्षेत्रमा मोरङको रतुवामाईबाट र्याली सुरु हुने बताउनुभयो । यसैगरी विराटनगर महानगरको टोली भने विराटनगर पुष्पलालचोकबाट र्यालीमा मिसिनेछ । र्यालीको तीव्र तयारी गरिरहेको जिल्ला कमिटीले आज विभिन्न पालिकाका अध्यक्ष तथा विराटनगर महानगरपालिकाका सबै वडाका अध्यक्षहरूसँग छलफल गरेको हो ।
सहभागीहरूले मोटरसाइकल र्यालीलाई भव्य बनाउनका लागि उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन । र्यालीलाई भव्य रुपमा सफल पार्नका लागि प्रत्येक पालिकामा नेताहरू तोकिएका छन । मिक्लाजुङबाट सुरु भएको र्याली उर्लाबारी हुँदै पथ्री पथ्रीबाट लेटाङ लेटाङबाट बेलबारी अनि विराटचोकबाट दक्षिण झर्नेछ भने रतुवामाईबाट आएको र्याली रोड हुँदै विराटनगर आइपुग्नेछ ।
दुवै टिम विराटनगरको तीन पैनीमा मिसिएर बजार परिक्रमा गर्ने आयोजकले जानकारी दिएको छ । र्याली विराटनगरको महेन्द्रचोकमा आएर सभामा परिणत हुनेछ । त्यहाँ विभिन्न केन्द्र तथा प्रदेशका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।