जेनजी आन्दोलन : विराटनगरको क्षति ९८ करोड

विराटनगर २७ कात्तिक । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते अराजक समूहले आगजनी र तोडफोड गर्दा विराटनगर महानगरपालिकामा मात्रै साढे ९८ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ ।

महानगरका अनुसार भौतिक संरचना, सवारी साधन र मेसिनरी उपकरण ध्वस्त हुँदा ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ बराबरको क्षति भएको हो । महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जेनजी आन्दोलनमा महानगरको प्रशासनिक भवन ध्वस्त भएको थियो ।

वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा क्षति भएको थियो । स्काभेटर, शवबाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्री ध्वत हुँदा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको छ । यो सबै वडाको क्षतिको हिसाब हो । वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको प्रमुख कोइरालाले बताउनुभयो ।

आगजनीबाट विराटनगर महानगरपालिकाको प्रशासनिक भवनमा रहेका सम्पूर्ण कागजात नष्ट भएको थियो । अराजक समूहले महत्वपूर्ण कागजात रहेको कोठा खोजीखोजी आगजनी गरेका थिए । प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी भएका कारण महानगरपालिकाले टेन्टमार्फत सेवा प्रवाह गरेको थियो । कार्यालय सञ्चालनका लागि भवन मर्मत भइरहेको छ ।