मनमोहन प्राविधिक विश्वविद्यालयले अनुसन्धानमा विशेष ध्यानदिनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुलुक समृद्धिलाई ध्यान दिई अनुसन्धान कार्यक्रमतर्फ जोड दिनुपर्ने बताउनु भएको छ ।

मोरङको वुढीगंगा गाँउपालिकास्थित विश्वविद्यालयको पाँचौ सभाको आज उद्घाटन गर्दै उहाँले शैक्षिक र उत्पादन मुलुक अनुसन्धान कार्यक्रमले मुलुकको समग्र विकास हुने भएकाले यसतर्फ विशेष ध्यान जानु पर्ने विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले विश्वविद्यालयको स्वास्थ्य सम्वन्धि शैक्षिक कार्यक्रमलाई प्रदेश सरकार अन्तर्गतको धनकुटा अस्पतालमा कार्य गर्न आग्रह गर्नु भयो । उहाँले आगामी दिनमा विश्वविद्यालयलाई स्वायत्त संस्थाको रुपमा राखी थप वजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा केही समय पछि ‘कोशी मोवाइल अस्पताल’ तराईका तीन जिल्ला सञ्चालन गर्ने र क्रमशः प्रदेशका अन्य जिल्लामा विस्तार गर्दै जाने जानकारी गराउनु भयो । उहाँले मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्दै नेपाली झण्डा ओडेर सरकारी, निजी सम्पत्ति नष्ट गर्ने कार्य गलत भएको विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रबाट तराईमा वसोवास सर्ने कार्यको नियन्त्रणको लागि सरकारले स्वास्थ्य, शिक्षा र पर्यटकीय क्षेत्रको विकासमा विशेष ध्यान दिने बताउनु भयो । विश्वविद्यालयका उपकुलपति डा सुषाश्री पोखरेलले विश्वविद्यालयले विभिन्न आयुर्वेदिक औषधि उत्पादनका लागि अनुसन्धान कार्य शुरु गरेको जानकारी गराउनु भयो ।