एमाले मोरङले शुरु गर्यो कार्यकर्ता भेटघाट

विराटनगर ३१ असोज । नेकपा एमाले मोरङले जेनजीको आन्दोलन पछि पहिलो पटक सार्वजनिक रुपमा कार्यकर्ता भेलाको कार्यक्रम गरेको छ ।

जेनजीको आन्दोलनपछि कार्यकर्तामा बढेको निरासालाई शक्तिमा बदल्ने उद्देश्यले कार्यकर्ता भेला आयोजना गरिएको एमाले मोरङले जनाएको छ । नेताहरुलाई अलग्गै मञ्चमा नराखी कार्यकर्ताको आमनेसामने राखेर कार्यकर्ताको सुझाव लिएर नेताहरुले संवोधन गरेका थिए ।

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताउनुभयो । नेपालको इतिहासमा अकल्पनीय र दुखद घटना भएको बताउँदै यसको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । संकटको बेला नेतृत्वमाथि विभिन्न कोणमा प्रहार भइरहेको भन्दै उहाँले नेतृत्वको रक्षा गर्दै अगाडि बढ्नुपर्ने र विधि र प्रक्रियामा नेतृत्व परिवर्तन हुने उहाँले उल्लेख गर्नुभयो ।

भेलामा करिब ५०० जना कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । भेलामा एमाले केन्द्रीय सदस्यहरु जीवन घिमिरे, यूवराज बाँस्कोटा, रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, कोशी प्रदेश अध्यक्ष घनस्याम खतिवडा, जिल्ला अध्यक्ष अजम्वर राई, उपाध्यक्ष सागर थापा लगायतले बोल्नु भएको थियो ।