सचिवको गाडी मन्त्रीले खोसेकोमा कर्मचारी सङ्गठनहरुको विरोध

विराटनगर, १८ भदौ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सोही मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले चढ्दै आएको को १ झ ६७९ नम्बरको गाडी खोसेको बिषयप्रति कर्मचारी सङ्गठनहरुले विरोध जनाएका छन् ।

मन्त्रालयको कामकाजको सिलसिलामा प्रयोग भएको सरकारी सवारी साधनको साँचो खोसेर अभद्र व्यवहार गरिएको भन्दै बुधबार नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर बन, नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन कोशी प्रदेश अध्यक्ष योगेश्वर खनाल, माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन कोशी प्रदेशका अध्यक्ष रुद्र प्रसाद सुवेदीले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा र भर्सना गरेका हुन् । उक्त विज्ञप्तिमा तीनवटै संगठनका जिल्ला अध्यक्षहरु क्रमश : परशुराम मण्डल,रविन्द्र बहादुर कार्की र सुवोध आचार्यले पनि संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । उनीहरूले कर्मचारीलाई भयरहित वातावरणमा काम गर्ने वातावरण समेत सिर्जना गर्न तथा यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कडा कारबाही गर्न कोशी प्रदेश सरकारसँग माग समेत गरेका छन् ।

संयुक्त विज्ञप्तिमा ‘यस प्रकारको घटनाले प्रदेश सरकारप्रति नकारात्मक सन्देश सम्प्रेषण हुनुका साथै कर्मचारीहरूलाई कार्यथलोमा भयरहित वातावरणमा सेवा प्रवाह कसरी हुन्छ भने प्रश्न समेत उठेको छ’ भनि उल्लेख गरिएको छ । ‘उच्च प्रशासनिक नेतृत्व बोकेको राष्ट्रसेवक कर्मचारी माथि गरिएको अमर्यादित र अपमानित व्यवहारले कर्मचारीहरुको मनोवलमा ह्रास आउने तथा कार्यस्थलमा सुरक्षित रुपले कार्य गर्न समेत प्रत्याभुत हुन नसकेको यस्ता किसिमका घटना निन्दनीय र भत्र्सना योग्य भएको हाम्रो ठहर रहेको छ ’ – संयुक्त विज्ञप्तिमा भनिएको छ, ।

घटनाको एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका कोशी प्रदेश अध्यक्ष हरि सुवेदीसहित मन्त्रालय अन्तरगतका अन्य विषयगत क्षेत्रसम्वद्ध कर्मचारी संघसंगठनले मङ्गलबारनै विज्ञप्तिमार्फत विरोध जनाइसकेका छन ।

भदौ ९ गते विहान मन्त्रालयको गाडी चढेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यक्रममा सहभागी हुन पुगेका सचिव पाण्डेलाई मन्त्री हाङगामले आफ्नो सचिवालयका कर्मचारी मार्फत गाडीको चावी नियन्त्रणमा लिएका थिए ।

कार्यक्रम सकेर फर्किने बेलामा गाडी नभेटेपछि सचिव पाण्डेले मन्त्रालयमा फोन गर्दा ‘गाडी नदिनु भन्ने आदेश भएको’ भएको जवाफ पाएका थिए । उनी एक कर्मचारीको मोटरसाइकलको पछाडि बसेर मन्त्रालय पुगेको बताइएको छ । यो घटनापछि मन्त्री हाङगाम भने गृहजिल्ला ताप्लेजुङ तर्फ लागेकाछन् भने सचिव पाण्डे मङ्गलबार देखिनै विदामा रहेको मन्त्रालयका एक कर्मचारीले बताए ।