
विराटनगर १८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भदौ २० गतेदेखि हुने भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजना हुने महाधिवेशनका लागि सबै तयारी पूरा भएको पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ललितपुरको गोदावरीमा आयोजना हुन लागेको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ । अधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २ हजार ३४१ जना सहभागी हुनेछन् ।
अध्यक्ष ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषणसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सो प्रतिवेदनमा नेपाली विशेषतासहितको समाजवाद स्थापनाको खाका र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने रोडम्याप समेटिएको छ ।
उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । जसमा पार्टी सदस्यता वर्गीकरण, ७० वर्षे उमेर सीमा नराख्ने, २५१ सदस्यीय केन्द्रीय कमिटी, एक तिहाइ पोलिटब्युरो र १५ पदाधिकारीको स्थायी कमिटी रहने लगायतका व्यवस्थाहरू प्रस्तावित छन् ।
पदाधिकारीमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ । महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
जसमा पार्टी निर्माणमा देखिएका चुनौती र समाधानका उपायहरू, समाजमा पार्टीप्रति विश्वास जगाउने रणनीति र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने योजना समेटिएको छ ।