मोर्डन एरामा अभिमुखीकरण

विराटनगर १६ भदौ । कलेजको अनुशासन र क्रियाकलापको बारेमा जानकारी गराउन सोमबार विराटनगर –३ स्थित मोर्डन एरा कलेजले विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

कलेजको १३ औं संस्करणको स्वागत तथा अभिमुखीकरणमा प्लस टुतर्फ भर्ना भएका २ सय बढी विद्यार्थीको सहभागिता थियो ।

‘संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता’ भन्ने सुत्रलाई आत्मसात गर्दै आएको कलेजको स्थापना २०६८ सालमा भएको थियो । कलेजमा व्यवस्थापन, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयको अध्ययन अध्यापन हुने गरेको छ ।

कार्यक्रममा बोल्दै पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख डा. उत्तम रेग्मी, वडा नं. ३ का अध्यक्ष बासु बस्नेत, कलेजका प्राचार्य ठाकुर भण्डारी, विराटनगर प्याब्सनका पूर्व अध्यक्ष इन्द्रकुमार राई लगायतले कलेजले किताबी ज्ञानमात्र नभई व्यक्तित्व विकास, चरित्र निर्माण र सिर्जनात्मक एवं समालोचनात्मक सीपलाई प्रोत्साहन गर्ने गरेको बताए ।

कलेजका समन्वयक बैजनाथ माझीले कलेजमा गर्न हुने र गर्न नहुने क्रियाकलापका बारेमा विद्यार्थीलाई सम्झाई बुझाई गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले आकर्षक गीत, नृत्य प्रस्तुत् गरी सहभागीलाई रोमाञ्चित तुल्याएका थिए । कार्यक्रमको संचालन कलेजका संस्थापक राम घिमिरेले गरेका थिए ।