पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनुले संविधानको औचित्य समाप्त हुँदैन : प्रचण्ड

विराटनगर १२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कालापानी–लिपुलेक लगायतका सीमा समस्या भारतसँग सम्वादबाट समाधान गर्नुपर्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको जानकारी गराउनु भयो ।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्ट रूपमा राखेको बताउनु भयो । उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत जाँदा भारतीय प्रधानमन्त्री मोदीजी र मैले प्रेस ब्रिफिङ्गमा सीमाका विवादका विषय चर्चा भएको र प्रधानमन्त्री मोदीजीले सिमानाको समस्या जो बाँकी छ, त्यसलाई सम्वादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।’ उहाँले वर्तमान सरकारले भारतसँग सम्वादको प्रक्रिया थालेर सीमा समस्या हल गर्न सुझाव दिनुभयो ।

अध्यक्ष दाहालले नेपालको संविधान राम्रो बनेको बताउनु हुँदै यसको कार्यान्वयन अपेक्षित रूपमा हुन नसक्दा समस्या देखिएको भनाइ राख्नु भयो । उहाँले संविधान अनुसारका ऐन कानुन बनाउनमा राजनीतिक दलहरूले अरुचि देखाएकोले समस्या देखिएको विचार राख्नु भयो ।

अध्यक्ष दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनुले संविधानको औचित्य समाप्त नहुने बताउँदै विश्वका विभिन्न मुलुकका पूर्व राष्ट्रपति, प्रधानमन्त्री व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको बताउनुभयो । उहाँले भन्नु भयो,‘संविधान, ऐन, कानुनले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको छैन । ’

एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले समाजवादी मोर्चा र अन्य पार्टीसँग एकताको सम्भावना रहेको बताउनुभयो । उहाँले यसका लागि वार्ता सम्वाद चलिरहेको जानकारी दिनुभयो ।