


विराटनगर १२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल आज सङ्खुवासभा आउँदै हुनुहुन्छ । संखुवासभाको मादी माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव समारोहको उद्घाटन गर्न राष्ट्रपति पौडेल आउन लाग्नु भएको हो ।
मादी माध्यमिक विद्यालय सङ्खुवासभाकोमात्र नभई कोशी प्रदेशकै शैक्षिक इतिहास बोकेको गौरवशाली संस्था मानिन्छ । स्थापनाकालदेखि नै शिक्षाको विस्तार र सामाजिक चेतनाको संवाहक रहँदै
आएको यस विद्यालयले हीरक महोत्सवलाई ७५ बर्से यात्राको उपलब्धी स्मरण गर्दै भावी पुस्तालाई प्रेरित गर्ने उद्देश्यले हीरक महोत्सव आयोजना गर्न लागेको हो ।
समारोहमा राष्ट्रपति पौडेलले विद्यालयपरिसरमा निर्मित ‘हीरक स्तम्भ’ अनावरण गर्नुका साथै विद्याज्ञानको प्रतीकका रूपमा स्थापित सरस्वतीको मूर्ति पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, पूर्वविद्यार्थी, स्थानीय अगुवा, विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा जिल्लाभरका प्रतिनिधिको उपस्थिति रहने विद्यालयले जनाएको छ ।

