एमाले मोरङको विस्तारित बैठकमा उठ्यो विद्या भण्डारीलाई पार्टी कार्यालयमा ल्याएको विषय

विराटनगर ९ भदौ । नेकपा एमाले मोरङको विस्तारित बैठक आज रंगेलीमा बसेको छ ।

विस्तारित बैठक विशेष गरि काठमाण्डौंमा हुने दोश्रो विधान महाधिवेशनलाई केन्द्रित गरेको आयोजना गरिएको थियो । तर, विस्तारित बैठकमा जिल्ला कमिटी सदस्यहरुले गत भदौ ३ गते पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी कार्यालय ल्याएको विषयमा बोलेका थिए ।

जिल्ला कमिटीका एक सदस्यले भने,‘ २/४ जना साथीहरुले विद्या भण्डारीलाई पार्टी कार्यालयमा ल्याएर कार्यकर्ता भेला गरेको विषय उठाउनुभयो ।’ नेताहरुले कार्यकर्ता भेला नभएर काठमाण्डौं फर्कने क्रममा पार्टी कार्यालय हुँदै जानु भएको जवाफ दिनुभयो ।’ विस्तारित बैठकमा पूर्ण बैठकले गरेको कार्यविभाजनप्रति केही सदस्यहरुले गुनासो गरेको जनाईएको छ ।

आजको बैठकमा १७ वटै पालिका स्तरबाट आएका सुझावहरुलाई जिल्ला कमिटी बैठकमा पालिका कमिटी अध्यक्षहरुले रिपोर्टिङ गरेको एमाले मोरङका सचिव सोमराज थापाले बताउनुभयो । पालिका कमिटी, जिल्ला कमिटी र जनसंगठनबाट आएका सुझावहरु संकलन गर्ने काम भएको उहाँले बताउनुभयो ।