
विराटनगर, ५ भदौ । कोशी प्रदेश सभाको आजको बैठकमा दुई वटा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम १४३ बमोजिम सामाजिक विकास समितिको आर्थिक वर्ष२०८१÷८२ को वाषिक प्रतिवेदन समितिको सभापति गयानन्द मण्डल र प्राकृति श्रोत तथा पूर्वाधार विकास समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन समितिको सभापति होमबहादुर थापाले सदनमा वाचन गरेर सुनाउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कोशी प्रदेश सभा संसदीय दलका तर्फबाट खिनु लङ्वा लिम्बूले सरकारले हतारमा विधेयक ल्याउनु भन्दा गहन छलफल गरेर ल्याएमा विधेकय अझ समृद्ध हुने विचार राख्नु भयो । उहाँले पछिल्लो समयमा प्रदेश सरकारले विधेयकमा बृहत छलफलै नगरी हतारमा पारित गर्दा दूरगामी असर पर्ने भन्दै विधेयकलाई परिपक्व तथा कार्यान्वय योग्य बनाउन छलफलको समय बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कोशी प्रदेश सभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले नेपाल भूमि सुरक्षा र रक्षा गर्न बलियो भएर प्रस्तुत हुनु पर्ने धारणा राख्दै लिपुलेक नाकाबाट भारत र चीनको व्यापारका लागि नाका खोल्ने विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।
शून्य समयमा कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, लखीकुमारी गणेश, सविना बजगाँई, तारादेवी ढकाल र मीना श्रेष्ठले विविध समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सभामा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्रहरु वाचन गर्नुभएको थियो ।