
विराटनगर ३ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका नेताहरुसँग सल्लाह गरेरै मोरङ पार्टी कार्यालय अवलोकन गर्न आएको बताउनु भएको छ । विराटनगर आएको समयमा पार्टी कार्यालय पुग्न मन लाग्यो उहाँले भन्नुभयो,‘ नेताहरुसँग सल्लाह गरेँ जानु भन्नुभयो ।’
मोरङ पार्टी कार्यालयसँग आफ्नो धेरै कुराहरु जोडिएको पनि उहाँले बताउनुभयो । मोरङको पार्टी कार्यालय देशभरीकै एमालेको पहिलो जिल्ला कार्यालय रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ देशभरीको पहिलो पार्टी कार्यालय हो । पार्टीका धेरै काम यहाँँबाट हामीले गरेका छौं । ’ मोरङबाट ४५ साल अघि संगठित सदस्यता लिएको स्मरण गर्दै उहाँले भन्नुभयो,‘ विराटनगरबाटै सदस्य भएँ, जनआन्दोलमा यहीँबाट भाग लिएको हुँ । पार्टी सदस्यताको सपथ पनि यहीँ लिएको हुँ ।’
१० वर्षपछि पार्टी कार्यालय पुग्नु भएकी उहाँले नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । पार्टी कार्यालय परिसरमा रहेको पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको शालिकमा मल्यार्पण गरि सभाहलमा प्रवेश गर्नुभएकी उहाँले करिव ८ मिनेट कार्यकर्तालाई संवोधन गर्नु भएको थियो ।
संवोधन पछि उहाँले माथिल्लो तलामा रहेको प्रदेश कमिटीको कार्यालय, बैठक कक्षहरुको अवलोकन गरे फर्कनु भएको थियो ।
एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गर्नुभएकी उहाँले आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताउनुभयो । नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उहाँले एमालेको सामान्य सदस्यमात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताउनुभयो ।
पार्टी कार्यालयमा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य विनोद ढकाल, केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष बान्तवा, उषा झा, महानगर कमिटीका पदाधिकारीहरु सहितका नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गर्नुभएको थियो ।