
विराटनगर ३ भदौ । पूर्वराष्ट्रपति तथा नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चाली जादै हुनुहुन्छ ।
दिउँसो १ वजे पार्टी कार्यालय जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले उहाँ जान लाग्नु भएको बताईएको छ ।
पूर्व राष्ट्रपति भण्डारीको कार्यकर्ता भेटघाट कार्यक्रम गर्न लागेको भन्दै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विराटनगर महानगर इन्चार्ज पर्शुराम वस्नेत लगायतले पार्टी कार्यालयमा कार्यक्रम नगर्न निर्देशन दिएको बताईएको छ । एमाले मोरङका सचिव सोमराज थापाले पूर्वराष्ट्रपति भण्डारीको औपचारिक कुनैपनि कार्यक्रम नरहेको बताउनुभयो । उहाँले काठमाण्डौं फर्कनुअघि पार्टी कार्यालय भवन अवलोकन गर्दै फर्कने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
सोमबार विराटनगर आउनु भएकी पूर्व राष्ट्रपति भण्डारीसँग मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रीहरु आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई , एमाले नेता कार्यकर्ताहरुले भेटघाट गरेका छन् ।
एमाले पूर्व उपाध्यक्ष समेत रहनु भएकी पूर्व राष्ट्रपति भण्डारीले पार्टी संगठित सदस्यका रुपमा मोरङ पार्टी कार्यालय आउनु स्वभाविक भएको नेताहरुले बताएका छन् । पार्टी संस्थापन पक्ष भन्नेहरुल अनावस्यक रुपमा लिएको उनीहरुको भनाई छ ।