पूर्वराष्ट्रपति भण्डारी र मुख्यमन्त्री कार्की वीच एक घण्टा ‘वान टु वान’ वार्ता

विराटनगर २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रीहरु र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीवीच भेटवार्ता भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राई विग होटलमा पुग्नु भएको थियो ।

साँझ ८ वजेतिर मन्त्री सहित विग होटलमा पुग्नु भएका मुख्यमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीवीच करिव एक घण्टा वान टु वान भेटवार्ता भएको छ । त्यसअघि पूर्वराष्ट्रपति भण्डारी, मुख्यमन्त्री र मन्त्रीहरुवीच आधा घण्टा भेटवार्ता पछि मन्त्रीहरु फर्कीएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।

मन्त्रीहरु फर्किएपछि मुख्यमन्त्री कार्कीसँग मात्रै उहाँले भेटवार्ता गर्नु भएको हो ।

एमाले स्थायी कमिटी सदस्य समेत रहनु भएका मुख्यमन्त्री र पूर्वराष्ट्रपति भण्डारीवीच राजनीतिक तथा प्रदेश सरकारका गतिविधिबारे छलफल भएको श्रोतले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले भने पूर्वराष्ट्रपति भण्डारीलाई आज विहान विराटनगर विमानस्थलमा स्वागत गर्न पुग्नु भएको थियो ।

मंगलबार दिउँसो एमाले पार्टी कार्यालय पाञ्चालीमा कार्यकर्ता भेटघाट गरि पूर्वराष्ट्रपति भण्डारी काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।