
विराटनगर ३२ असार । नेपालको जलश्रोत तथा आर्थिक क्षेत्रको विकासका लागि भारतीय उद्योगीहरुले लगानी गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल भारत मैत्री युवा संघ मोरङद्वारा आज विराटनगरमा आयोजित नेपालको विकासमा भारतीय लगानीको भूमिका विषयक गोष्ठीमा उहाँहरुले उद्योग,पर्यटन सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीले दुई देशलाई फाइदा पुग्ने विचार राख्नु भएको छ ।
नेपाली काग्रेसका नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँणले गोष्ठीको उद्घाटन गदै नेपालको कृषि क्षेत्रको विकासका लागि भारत सरकारले एक लाख थान स्यालो ट्युववेल सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले नेपालको धार्मिक क्षेत्र गोसाईकण्ड,मुक्तिनाथ, वराहक्षेत्र, पाथीभरा र मनकामना लगायतका क्षेत्रमा एक पटक धार्मिक भ्रमण गर्न भारतीयहरुलाई आग्रह गर्नु भयो । भारतीय लोकसभाका सदस्य प्रदीपकुमार सिंहले सरकार भनेको पाँच वर्षमा आउने जाने भैरहन्छ तर नेपाल भारत सम्बन्ध अटुट रहेको बताउनु भयो । उहाँले नेपालको जलश्रोत, उद्योग लगायत क्षेत्रमा लगानी गर्न भारतीय उद्योगीहरुलाई आग्रह गर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका सह महामन्त्री एवं युवा संघका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले नेपालको समृद्धिमा भारतले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले भारतले नेपालको हुलाकी सडक समयमा निर्माण सम्पन्न आवश्यक व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।
कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र भारतको विहार विधान सभाका सदस्य विद्यासागर केशरीले दुवै देश वीच जनस्तरमा सम्बन्ध सुमधुर बनाउन यसप्रकारको कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले दुवै देश वीच रहेको रोटीबेटीको सम्बन्धमा कसैले तोड्न नसक्ने विचार राख्नुभयो ।
नेपाल भारत मैत्रीयुवा संघ मोरङ अध्यक्ष मोहम्मद नसरुल,दुहवी नगरपालिकाका प्रम्ख बेद गच्छदार,नेपाल भारत मैत्री युवा संघका कृष्ण सिंहले नेपालको जलविद्युत क्षेत्रमा भारतीय लगानीले दुई देशले फाइदा लिन सक्ने भएकोले यसप्रति विशेष ध्यान भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल भारत सम्बन्ध सुमधुर बनाउन कमल लगाउनु हुने नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक लगायत चार जनालाई सम्मान गरिएको थियो ।