सञ्चारकर्मीले समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छ : सभामुख विष्ट

विराटनगर , २२ असार । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीहरुले समाजमा पछाडि परेको समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताउनु भएकोछ ।

नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष मोरङ ग्रामथान –२ झोराहाटद्वारा आज झोराहाटमा आयोजित झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार विक्रम निरौलालाई नगद सहित सम्मान गर्दै उहाँले बालविवाह, महिला हिंसा, छुवाछुत प्रथा र दाइजो प्रथा अन्त्यका लागि समाजमा समाचारको माध्यमबाट जनचेतना फैलाउनु पर्ने सुझाव दिनुभयो ।

सभामुख विष्टले लुइँटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य, शिक्षा एवं विकासमा महत्वपूर्ण योगदानको कारण उहाँहरुको सम्झना पछिसम्म रहिरहने बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराले जनप्रतिनिधिले गरेका विकास एवं सामाजिक कार्य राम्रो भए प्रशंसा एवं नराम्रोको स्वस्थ्य आलोचनात्मक टिप्पणी गरी सुझाव दिन आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले लुइँटेलले परिवारको यस क्षेत्रको समग्र विकासमा ठूलो योगदान रहेको चर्चा गर्नुभयो । सो अवसरमा सभामुख विष्टले छात्रपति लुइँटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी तथा जेहेन्दार छात्रवृत्तितर्फ रोजिना गच्छदार र आयुश खत्वेलाई नगद सहित सम्मान गर्नु भएको थियो ।

सभामुख विष्टले सोही अवसरमा छत्रपत्रि लुइँटेल स्मृति ग्रन्थ पुस्तकको विमोचन गर्नु भयो ।