
विराटनगर १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङबाट १८ जनाले ४.० जिपीए ल्याएका छन् । गत वर्ष ८ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका थिए ।
शुक्रबार साँझ प्रकाशित एसईईको नतिजा अनुशार विराटनगरको बाल कल्याण विद्या मन्दिरका ६ जना, आदर्श माविका ४ जना, विराटनगरको एभरेष्ट र पथरीशनिश्चरेको बाल्मीकी बोर्डिङ स्कुलबाट २–२ जना, विराटनगरका पाेखरिया, जेम्स, सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल र कान्तिपुर सेकेन्डरी स्कुलका १–१ जनाले ४.० जिपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।
परीक्षामा मोरङबाट ७३ दशमलव ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४.० जिपीए ल्याउने १८, ३.६१ देखि ३.९६ ल्याउने २ हजार २४८, ३ .२१ देखि ३.६० ल्याउने ४ हजार १२१, २.८१ देखि ३.२० ल्याउने ३ हजार ४०२, २.४१–२.८० ल्याउने १ हजार ८६९, २.०४ देखि २.४० ल्याउने २३१ जना र १.९५ देखि १.९९ ल्याउने २ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।
एसईई परिक्षाको नतिजामा विराटनगरको बाल कल्याण बिद्या मन्दिर( विकेभिएम) जिल्लाभर उत्कृष्ट भएको छ । विकेभीएमका ६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका हुन् । जिल्लाभरका विद्यालयहरुको नतिजामा सबैभन्दा बढि रहेको इकाइले जनाएको छ । विकेभीएमबाट २ सय ७१ जना विद्यार्थीले परिक्षा दिएका थिए । २ सय १४ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जिपिए, ५३ जना विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए ल्याएकाछन् ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आज विद्यार्थीले सम्मान समेत गरेको छ । विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले विद्यार्थीको लगन र मेहनतले नतिजा आएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘हामीले विद्यार्थीलाई असल र ब्यवहारिक शिक्षा दिएका हौं । विद्यार्थीले आफ्नो मेहनत, अध्ययन, लगावका कारण नतिजा राम्रो दिलाएका हुन् । यो नै अन्तिम नतिजा भने होइन, विद्यार्थीले आफ्नो भविष्य बनाउन अझ अरु खुड्किलो पुरा गर्नुपर्छ । यसका आधार हामीले बनाइदिने वातावरण तयार गरिदिएका हौं । नतिजाबाट खुशी छौ ।’
इकाईका अनुशार परीक्षामा मोरङबाट १७२ सामुदायिक विद्यालय, २२४ संस्थागत र १५ वटा प्राविधिक धारबाट सञ्चालित गरि ३९६ विद्यालयका १८ हजार १ सय परीक्षार्थी सहभागी भएका थिए ।