विराटनगर महानगरले तीन विद्यालयलाई मेगा विद्यालयका रुपमा विकास गर्ने

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई मेगा विद्यालयका रुपमा विकास गर्ने भएको छ ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वटा विद्यालयलाई मेगा विद्यालयका रुपमा विकास गर्ने नीति अघि सारेको छ ।

विराटनगरका ३ वटा सामुदायिक विद्यालयलाई ५ हजार देखि १० हजार विद्यार्थी अध्ययन गर्न सक्ने गरि मेगा विद्यालयका रुपमा विकास गर्न गुरु योजना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मेगा विद्यालयका रुपमा विकास गर्न आवस्यक शैक्षिक तथा भौतिक पूर्वाधारका विकास गरिने भएको छ ।

महानगरपालिकाले स्मार्ट कक्षा, स्मार्ट विद्यार्थी कार्यक्रम मार्फत प्रत्येक कक्षामा एक स्मार्ट बोर्डको नीति लिई आगामी आर्थिक वर्षमा सवै माध्यमिक विद्यालयमा न्युनतम एक स्मार्ट बोर्डको व्यवस्था मिलाई शिक्षण सिकाईलाई आधुनिक र प्रविधिमैत्री बनाईने भएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेको छ । जस मध्ये शैक्षिक विकास कार्यक्रमका लागि ७५ करोड ५१ लख ३० हजार विनियोजन गरिएको छ ।