
विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेको छ ।
विराटनगर महानगरपालिकाको १६ औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा ५० करोड ९ लाख १४ हजार बढीको बजेट प्रस्तुत गर्नु भएको हो ।
नगरसभामा उपप्रमुख कार्कीले आर्थिक बर्ष २०८२–०८३ का लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६४ करोड ७५ लाख, पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार , वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गर्नु भएको छ ।
विषयगत क्षेत्रमध्ये सामाजिक विकास तर्फ १ अर्ब ८९ लाख ३० हजार, आर्थिक विकास क्षेत्रतर्फ कृषि विकास कार्यक्रमका लागि १ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारी तर्फ २४ लाख, उद्यमशिलता विकासतर्फ ४७ लाख, उपभोक्ता हित संरक्षण तर्फ १० लाख, पर्यटन प्रवद्र्धन तर्फ २५ लाख गरी आर्थिक विकासतर्फ २ करोड ९६ लाख २५ हजार विनियोजन गरिएको छ ।
वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।