
विराटनगर १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताउनु भएको छ । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उहाँको चेतावनी छ ।
‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । कसैको दया–मायाबाट नभई संघर्षको बलमा जनताका अधिकार प्राप्त भएको भन्दै उनले त्यसमा आँखा नलगाउन चेतावनी दिनुभयो । अन्य दलसँग संघर्षभन्दा बढी समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उहाँले कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सधैं कमजोर हुने अवस्था अब आउन नदिने बताउनुभयो ।
प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले सुरु गरेका मध्यपहाडी लोकमार्ग, मदन भन्डारी मार्ग, उत्तर दक्षिण कोरिडोर लगायतका आयोजना पूरा हुने चरणमा हुनु खुसीको कुरा भएको उहाँको भनाइ थियो ।
आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लिएको पहलबाट डराएर भ्रष्ट, दलाल र बिचौलियाहरूले कांग्रेस र एमालेका नेतालाई आफ्नै घरमा बोलाएर अलोकतान्त्रिक, अप्राकृतिक र अपारदर्शी ढङ्गले अहिलेको सरकार बनेको स्पष्ट गर्नुभयो ।