
विराटनगर ६ फागुन । विराटनगर ५ का पारुल क्षेत्रीले लामो समय पूर्णकालिन राजनीतिमा विताए । अहिले पूर्णकालिन रुपमा सामाजिक अभियानमा छन् ।
नेकपा एमाले, माले, नेकपा एकिकृत समाजवादी हुँदै अहिले उनी सामाजिक कार्यमा सक्रिय छन् । हुँदै अहिले उनी अभियानकर्मीका रुपमा सक्रिय छन् ।
स्थानीय सरकार, जनप्रतिनिधिहरुले गर्नुपर्ने काम अहिले क्षेत्रीले अघि बढाएका छन् । उनलाई स्थानीयवासीले राम्रो साथ पनि दिएका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरका मुख्य सडकहरुलाई हरियाली बनाउने अभियानमा उनी अहोरात्र खटिएका छन् । गत बैशाख देखि शुरु भएको विरुवा रोप्ने अभियान निरन्तर चलिरहेको छ ।
विराटनगर ढाट (प्रवेशद्धार) देखि सीमावर्ती जोगवनी सम्मका सडकका दुवै तर्फ विरुवा रोप्ने अभियान जारी छ । क्षेत्री सहितको अभियानकर्मीको टोलीले अहिले सम्म ८ हजार बढी विभिन्न जातका विरुवाहरु, फलफूलका विरुवाहरु रोप्दै आएको छ । यस अभियानमा दैनिक अभियानकर्मीहरु पनि थपिनेक्रम जारी छ ।
अभियानकर्मीहरुले विरुवा मात्रै रोप्दैन, यसको संरक्षण, सिंचाई लगायतको काम पनि गर्दै आएको छ । दैनिक विरुवाको रेखदेख गर्ने काम पनि हुँदै आएको क्षेत्रीले बताए । उनले भने,‘ दैनिक दिउँसो ४ वजेपछि अभियानको काम शुरु हुन्छ ।’
विरुवा रोप्ने अभियानमा विभिन्न व्यक्तिहरुले विरुवा, संरक्षणका लागि चाहिने, जाली, बाँसहरु उपलब्ध गराउने गरेको उनले बताए । विराटनगरलाई केही वर्ष भित्रमा हरियाली शहर बनाईछाड्ने उद्देश्य रहेको क्षेत्रीले बताए । उनले भने,‘ दैनिक विरुवाको हेरचाह आवस्यक छ । कसैले विरुवा उखेलिदिएको हुन्छ । कतै मरेको हुन्छ । फेरि त्यो ठाउँमा विरुवा रोप्ने काम पनि गर्छौं ।’
जन्मदिन र मृत्युमा पनि विरुवा
अभियानकर्मी क्षेत्रीले जन्मदिनमा विरुवा रोपेर जन्मदिन मनाउन पनि आग्रह गर्दै आएका छन् ।
उनले व्यक्तिगत भेटेर, सामाजिक सञ्जाल मार्फत पनि जन्मदिनमा विरुवा रोप्न उत्प्रेरित गर्ने गरेका छन् ।
विरुवा रोपेकै स्थानमा जन्मदिन मनाउने पनि गरिएको क्षेत्रीले बताए । क्षेत्री सहितको टोलीले अहिले मृत्युमा पनि विरुवा लिएर पुग्ने गरेको छ ।
विराटनगरवासी कसैका घरमा शोक परेमा समवेदना दिन जाँदा विरुवा लिएर क्षेत्री सहितको टोली पुग्ने गरेको छ । समवेदना दिन जाँदा पत्र हैन विरुवा लैजाँदा प्रभावकारी हुने हुने बताए ।
शोक परेका समयमा रोपीएको विरुवाले पछि सम्म सम्झना दिलाउन मद्धत गर्ने क्षेत्रीले बताए । उनले भने,‘ विरुवालाई देख्दा सम्झना आईरहन्छ, समवेदना पत्र दिने हाम्रो धर्म संस्कृतिमा कहीँ पनि थिएन ।’
विगत १० महिनादेखि श्रमदान हुँदै आएको उनले बताए । विराटनगरको इतिहासमा यो अहिले सम्मकै सवैभन्दा लामो श्रमदान भएको उनको दावी छ । उनले भने,‘ १० महिनाको अवधिमा रोपिएका विरुवाहरु हुर्केर सुन्दर फूल पनि दिन थालेका छन् ।’ वातावरण संरक्षणको अभियानमा साथ दिन सम्पूर्ण महानगरवासीमा उनले आग्रह पनि गरेका छन् ।