विराटनगर ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्न खोजेकोमा विधेयक अघि बढाउन नदिइएको गुनासो गर्नुभएको छ ।
काठमाडौंको वसन्तपुरमा आज ज्यापु दिवसको कार्यक्रममा ओलीले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारवाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारवाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा सांसदहरुले नै त्यसलाई अस्वीकार गरेको दाबी गर्नुभयो । भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा ५०सौँ वर्षसम्म पनि उजुरी अल्झाएर राख्न मिल्ने अवस्था रहेको जिकीर गर्नुभयो ।
अहिले पनि १०/१५/२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै रहेको भन्दै उहाँले मान्छे बितेर गइसक्दा पनि न कारवाही, न सफाइ पाउने अवस्थाको अन्त्य हुनुपर्ने पक्षमा आफूहरु रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले नेवार समुदायभित्र पनि विभिन्न समुदायका पर्वहरुको आ–आफ्नै महत्व रहेको बताउनुभयो । बसन्तपुरमा आयोजित कार्यक्रमअघि उपत्यकाका विभिन्न स्थानबाट साँस्कृतिक बाजा गाजासहित र्याली निकालिएको थियो ।
झाँकीसहितका र्यालीहरु बसन्तपुरमा जम्मा भएका थिए ।