पञ्चायतकालिन नेता तथा पूर्व उपप्रधानमन्त्री मण्डलको निधन

विराटनगर, ८ पुस । पञ्चायतकालिन नेता तथा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको आज ८८ वर्षको उमेरमा निधन भएको छ । सामान्य अवस्थामै आज विहान नित्यकर्म सकेर ओछ्यानमा ढल्किएकै अवस्थामा उहाँको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

मोरङ जिल्लाको दक्षिण क्षेत्रमा रहेको साविकको मझारे गाउँ पञ्चायत वडा नं ३ को वडा सदस्यबाट आफनो राजनीतिक जीवन सुरु गर्नु भएका मण्डल वडा अध्यक्ष, मोरङ जिल्ला पञ्चायतको सदस्य हुँदै दुई कार्यकाल जिल्ला पञ्चायतको सभापति, दुई कार्यकाल राष्ट्रिय पञ्चायतको सदस्य, एक कार्यकाल प्रतिनिधि सभाको सदस्य, पञ्चायतकाल र बहुदलीय व्यवस्थाको पुनसर््थापना पछि तथा शाहीकालमा गरेर पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री समेत हुनु भएको थियो ।

२०२८ साल देखि २०३५ साल सम्म मोरङ जिल्ला पञ्चायताको सभापति, २०३८ साल देखि २०४६ साल सम्म राष्ट्रिय पञ्चायतको सदस्य हुनु भएका मण्डल बहुदलीय व्यवस्थाको पुनसर््थापना भएपछि २०५६ सालमा मोरङ क्षेत्र नं ७ बाट तत्कालिन नेपाल सद्भावाना पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

नेपाली राजनीतिमा राजभक्त नेताको छबी बनाउनु भएका पूर्व उपप्रधानमन्त्री मण्डल शाहीकालमा उप प्रधान तथा शान्ति मन्त्री हुनु भएको थियो । पञ्चायतकालमा कर्मठ पञ्चको रुपमा आफ्नो पहिचान बनाउनु भएका मण्डल पञ्चायतको अन्त्यको केही वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहे पनि २०५५ साल देखि उहाँले तत्कालिन नेपाल सद्भावाना पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेर राजनीतिक सक्रिय हुनु भएको थियो ।

नेपाल सद्भावाना पार्टीका अध्यक्ष गजेन्द्र नारायणको निधन पछि उहाँ सोही पार्टीको कार्यवहाक अध्यक्ष समेत हुनु भएको थियो । २०६२/६३ सालको जन आन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएपछि उहाँले
तत्कालिन नेपाल सद्भावाना पार्टीको अध्यक्षबाट राजीनामा दिएर सक्रिय राजनीतिक जीवनबाट टाढा हुनु भएको थियो ।

मण्डलको विराटनगर महानगरपालिका वडा नं ९ स्थित आफ्नै निवासमा निधन भएको थियो । आज नै उहाँको पुर्खौली थलो मझारे तथा हालको जहदा वडा नं २ स्थित लोहोन्द्रा घाटमा धार्मिक परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको थियो ।

पूर्व मन्त्री राप्रपा अध्यक्ष कमल थापाले पूर्वउपप्रधानमन्त्री मण्डलको निधनको समाचार सुन्दा अत्यन्तै दुःख लागेको बताउनुभएको छ । उहाँको निधनबाट मोरङले लोकप्रिय जनप्रतिनिधि र देशले निष्ठावान राजनीतिज्ञ गुमाएको सामाजिक सञ्जाल फेसबुकमा लेख्दै समवेदना व्यक्त गर्नुभएको छ । पूर्वमन्त्री मण्डलको निधनप्रति कोशी प्रदेशका पूर्वमन्त्री तथा जसपा नेता जयराम यादवले पनि दुःख व्यक्त गर्नुभएको थियो ।