विराटनगर २८ माघ । जेनजी आन्दोलनपछि मानव अधिकारको अवस्था कमजोर बनेको अधिकारकर्मीहरुले बताएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विभिन्न सरकारी, निजी तथा सार्वजनिक कार्यालयहरुमा तोडफोड, आगजनी र लुटपाटका घटना भएपछि कोशी प्रदेशका अधिकारकर्मीहरुले कार्यालयको बोर्ड समेत हटाएको बताएका छन् ।
शान्तिका लागि साझा अभियान (कोक्याप) कोशी प्रदेश कार्यालयले विराटनगरमा आज आयोजना गरेको मानवअधिकार रक्षकहरुको अवस्था र नागरिक स्थान विषयक प्रदेश स्तरिय परामर्श कार्यक्रममा अधिकारकर्मीहरु सिविन विराटनगरका प्रमुख बासु अधिकारी, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त, इन्सेक कोशी प्रदेश प्रमुख मनोहर पोखरेल, अधिकारकर्मीहरु मणि अज्र्याल, देवी बाँस्कोटा, दिनेश श्रेष्ठ, यज्ञ शर्मा लगायतले जेनजी आन्दोलन पछि अधिकारकर्मीहरुलाई काम गर्ने सहज वातावरण नभएको बताएका थिए ।
नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले पत्रकारलाई धम्की, आक्रमणका घटनाहरु बढेको बताउनुभयो । जेनजी आन्दोलनका क्रममा लुटपाट, आगजनी, तोडफोडमा संलग्नहरुको समाचार लेख्ने पत्रकारहरुलाई धम्की, आक्रमण भएको बताउनुभयो ।
कार्यक्रममा कोक्यापका अध्यक्ष पुष्प भुषाल, निर्देशक महेश भट्ट, कार्यकारी निर्देशक सरोज नेपाल, राजनारायण यादव, प्रकाश परियार लगायतले बोल्नु भएको थियो ।