विराटनगर २८ माघ । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. ४ का उम्मेदवार जीवन घिमिरेले मतदाताका सुझावहरुलाई समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचन अन्र्तगत पहिलो चरणको घरदैलो कार्यक्रमसँगै मतदाताका सुझावहरु पनि संकलन गरिएको उहाँले बताउनुभयो । निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा भित्रै प्रतिबद्धता सार्वजनिक गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
प्रेस चौतारी मोरङले आज विराटनगरमा उम्मेदवारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उम्मेदवार घिमिरेले मतदाताहरुले मुख्यगरि सडकको स्तरोन्नती, डुवानको समस्या, स्वास्थ्य उपचार, कृषकका सवालहरुलाई प्राथमिकता दिएको बताउनुभयो ।
पटक–पटक जितेर गएकाहरुले काम नगरेको भन्दै गुनासो गर्ने मतदाताहरुको ठुलो जमात आफुले पाएको उहाँले बताउनुभयो । मतदाताका सुझाव र मोरङ क्षेत्र नंं ४ को समग्र विकासलाई केन्द्रीत गरेर प्रतिबद्धता पत्र सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
पहिलो चरणको घरदैलो कार्यक्रममा पार्टी सदस्यहरुसँग पुग्ने काम गरिएको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ पार्टी सदस्य मार्फत भेटघाट गर्दै पार्टीलाई चलायमान बनाईको छ ।’ फागुन ४ गतेदेखि टोलसभा, कोणसभा, चुनावीसभाहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्रतिनिसभा सदस्यमा मनोनयन दर्तापछिको घरदैलो कार्यक्रममा अभूतपूर्व सहभागिता पाएको घिमिरेले बताउनुभयो । निर्वाचन आयोगको कार्यतालिका अनुशारको चुनाव प्रचारप्रसारको समय पर्खेर मतदाताहरु बसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ फागुन ४ गतेपछि देखि मोरङ ४ मा एमालेको जनहलर ब्यापक हुने छ ।’
नेता घिमिरे कोशी प्रदेश सरकारको संस्थापक सामाजिक विकास मन्त्री हुनुहुन्छ । उहाँले करिव ३ वर्षमा शिक्षा, स्वास्थ्य, खेलकुद, जेष्ठ नागरिक, महिला, बालिका, अपाङ्गता लगायतको क्षेत्रमा उल्लेखनिय कार्य गर्नुभएको थियो ।