बालबालिकाको सर्वाङ्गीण विकास प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर २१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिने बताउनु भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायको आयोजनामा नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उहाँले आजका बालवालिका भोलिका मुलुकका कर्णधार भएकोले उनीहरुको विकासका लागि राज्यले बनाउने नीति तथा कानुन निर्माणमा आवश्यक सुझावका लागि विज्ञहरुसँग आग्रह गर्नु भयो । उहाँले विगतमा राजनीतिक अस्थिरिताका कारण बालवालिकाको विकासका लागि निर्माण गरेको कानुन कार्यान्वयनमा समस्या उत्पन्नभएको गुनासो समेत व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले विगतमा आफुले विद्यालयका युवाहरुलाई देश सेवा, अनुशासित बनाउन, दुव्र्यसनीबाट ढाटा राख्न दुई हजार विद्यालयमा सगरमाथा टिन्स क्लव मार्फत म अघि वढ्छु कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भयो । उहाँले सम्मेलनमा निस्कने निश्कर्ष सरकारका लागि पथपर्दशक हुने भएकाले उपलव्ध गराउन समेत आग्रह गर्नु भयो । सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बालबालिकालाई असल नागरिक निर्माणमा सरकार सम्वेदनशिल रहेको विचार राख्नु भयो । उहाँले कार्यक्रमबाट निस्केको निचोडले वाल वालिकाको विकासको नीती, योजना र कार्यक्रम बनाउन सहयोगी हुने टिप्पणी गर्नुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले यस प्रकारको कार्यक्रमलाई भविष्यमा समेत निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो । प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डा.मिनाक्षी दाहाल, डा अरुण उप्रेतीले प्रारम्भिक वाल विकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राख्नु भएको थियो ।

विभिन्न चार वटा सत्रमा प्रारम्भिक वाल विकास इकोसिस्टमको विषयमा अनुसन्धानात्मक लेखहरूको प्रस्तुती र छलफल भएका छन् । सम्मेलनमा नेपाल, भारत, वंगलादेश, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, अमेरिका, वेलायत लगायतका तीन सय भन्दा बढीको सहभागिता रहेको छ ।

सम्मेलनमा प्राध्यापक, शिक्षक, अनुसन्धाता, विषयविज्ञ, चिकित्सक, विद्यार्थी लगायतको सहभागिता रहेको कला सङ्कायका डिन डा अनिलकुमार पोखरेलले जानकारी दिनु भयो । सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको डीन पोखरेलले जानकारी दिनुभयो ।