नेपाल प्रिमियर लिग आजदेखि, उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

विराटनगर १५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) टी २० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएल–फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

स्टार स्पोट्र्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ । आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी२० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको जनाइसकेको छ । क्यानले एनपीएलको पहिलो संस्करण भनेको छ ।

एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ ।

विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन । सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो ।

जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो । उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् । विराटनगरका कप्तान सन्दीपले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । जनकपुरका कप्तान अनिल शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए । किंग्स र बोल्ट्स दुवै जितसहित लिग सुरु गर्ने लक्ष्यमा छन् । दुवै टोलीमा विदेशी खेलाडीहरुको राम्रो साथ छ ।

विराटनगर किंग्समा विश्व चर्चित ब्याटर मार्टिन गप्टिलसहित ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टाेन र स्कटल्याण्डका क्रिस सोल छन् । पहिलो खेलमा यही चार जना खेल्नेछ । यस्तै जनकपुरको टिममा न्युजलियाण्डकै अलराउण्डर जिम्मी निसम देखि पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकन लाहिरु मिलान्था र जोसुअ ट्रोम्प, इंग्ल्याण्डका बेन माइक र क्यानडाका अलराउण्डर हर्श थाकेर छन् ।