विराटनगर ११ मंसिर । मोरङको बुढीगंगामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा प्रतिभा पहिचान र रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।
मंसिर १५ गते सम्म चल्ने प्रतियोगिताको रनिङ शिल्ड तर्फ विद्यार्थीले भलिवल, कवड्डी, कराँते र एथ्लेटिक्स र प्रतिभा पहिचान तर्फ चित्रकला, नृत्य, बक्तृत्वकला र गायनमा प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिताको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नु भएको थियो । उहाँले विद्यार्थीले शिक्षा र खेलकुदलाई सँगसँगै लैजान आवस्यक रहेको बताउनुभयो । सरकारले खेलकुदको विकासलाई विशेष जोड दिएको उहाँले बताउनुभयो । सरकारले खेलकुदका लागि स्थानीय तहमा बजेट मात्रै नभएर प्रशिक्षक पनि पठाइने बताउनुभयो । उहाँले भन्नुभयो,‘ पहिले खेलकुदका लागि बजेट मात्रै पठाउने गरिएको थियो । अव खेल प्रशिक्षक पनि पठाईने छ । यसको प्रकृया हामीले शुरु गरिसकेका छौं ।’
कार्यक्रममा पूर्व यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वुले खेलकुदको क्षेत्रमा राज्यले अपेक्षित काम गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले खेलकुदको विकासका लागि निरन्तर काम गरिरहेकाले आगामी दिनमा राम्रो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले शिक्षासँगै खेलकुद पनि महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । खेलकुदको माध्यमबाट पनि नाम कमाउन सकिने उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार, स्मृति बोर्डिङकी प्रिन्सीपल रिता न्यौपाने लगायतले शिक्षासँगै विद्यार्थीका लागि खेलकुद आवस्यक रहेकोमा जोड दिनुभयो । यो वर्षको बुढीगंगा गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गराउने जिम्मेवारी नरग्राम माध्यमिक विद्यालयले पाएको छ ।
आजदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १५ गतेसम्म हुने नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा बुढीगंगााका सामुदायिक र संस्थागत ३५ विद्यालयका ८ सय विद्यार्थी सहभागि छन् ।