‘सेफ जोन’बाट महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्य भएका पर्शुरामको शक्ति प्रदर्शन

विराटनगर ६ पुस । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन पछि निवर्तमान केन्द्रीय सदस्य युवराज बाँस्कोटा आईतबार दिउँसो विराटनगर विमानस्थलमा ओर्ले ।

विमानस्थलमा एमालेको चुनावचिन्ह अंकित झण्डा लिएर बसेको संख्या देखेपछि उनी छक्क परे । उनी सुटुक्क ओर्ले र घर पथरीशनिश्चरे तर्फ लागे । उनी विराटनगर ओर्लेपछि सामाजिक सञ्जालमा लेखे,‘ २-४ जना परिचित अनुहार बाहेक किन आएँ भन्ने थाहा नपाउनेहरुको जमात देखेर आश्चर्य भयो ।’

अनावश्यक तड्किलो, भड्किलो स्वाव किन ? एमाले नेताहरुले एक्लै हिँड्न हुँदैन भनि उनले प्रश्न गरेका छन् । निवर्तमान केन्द्रीय सदस्यको यो टिप्पणी हालै केन्द्रीय सदस्यमा निर्वाचित पर्शुराम वस्नेत लक्षित थियो ।

केन्द्रीय सदस्यमा निर्वाचित पछि पहिलो पटक विराटनगर ओर्लेका वस्नेतले आज ठुलो संख्यामा समर्थक उतारेर शक्ति प्रर्दशन गरेका छन् । विमानस्थलबाट ठुलो संख्यामा समर्थक सहित उनी पार्टी कार्यालय पुगेका थिए ।

विराटनगर आउनु अघि वस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विदाई भेट गरेका थिए । ओलीसँग विदाई भेट गरेको तस्वीर उनले सामाजिक सञ्जालमा राखेका थिए ।


वस्नेतको शक्ति प्रर्दशनको नेताहरुले आलोचना गरेका छन् । एमाले मोरङका एक नेताले भने,‘ भिडभाड गराउन आवस्यक छैन । पर्शुजीलाई के–के न भएको होला । उहाँफेरि शक्ति प्रदर्शन गर्न माहिर हुनुहुन्छ ।’

‘सेफ जोन’बाट प्रतिनिधि हुँदै खुल्ला तर्फबाट वस्नेत केन्द्रीय सदस्यमा निर्वाचित वस्नेत यसअघि एमाले कोशी प्रदेश सचिवालय सदस्य तथा महानगर कमिटीका इन्चार्ज थिए ।

‘सेफ जोन’बाट प्रतिनिधि हुँदै केन्द्रीय सदस्य
नेता वस्नेत ११ औं राष्ट्रिय महाधिवेशनमा ‘सेफ जोन’बाट महाधिवेशन प्रतिनिधि भए । मोरङ क्षेत्र नंं ६ मा उनको पार्टी सदस्यता छ । सोही भूगोलबाट उनी राजनीति गर्दै आएका छन् । ०७९ को निर्वाचनमा ६ (क) बाट प्रदेशसभाको उम्मेदवार थिए । उनी नेपाली कांग्रेसका केदार कार्कीसँग पराजित भए ।

नेता वस्नेत मोरङ ६ बाट महाधिवेशन प्रतिनिधि हुन चाहेनन् । पछिल्लो समय मोरङको राजनीतिमा नेता विनोद ढकालको जिल्ला कमिटी र महानगर सहितका अन्य पालिका कमिटीमा बर्चश्व छ । मोरङ ६ बाट प्रतिनिधि हुँदा पराजित हुने भयले उनले ‘सेफ जोन’ रोजे ।

वस्नेत जनबर्गिय संगठन नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष हुन् । जनसंगठनको अध्यक्षको हैसीयलले उनी उताबाट स्वत प्रतिनिधि हुने भएकाले भूगोलबाट जोखिम लिन खोजेनन् । उनी भूगोलबाट प्रतिनिधि भएर खेलकुद महासंघबाट आफ्नो ठाउँमा अन्यलाई पनि पठाउन सक्थे ।

मोरङ ६ बाट महाधिवेशन प्रतिनिधिहरुमा ढकाल पक्षका सवै उम्मेदवार विजयी भएका थिए । पार्टी संस्थापन पक्षका सवै उम्मेदवार झण्डै दोब्बर मतान्तरले पराजित भएका थिए । भूगोलको अवस्था राम्रो विश्लेषण गरेर उनी ‘सेफ जोन’ तर्फ गएको बताइन्छ ।

१० औं राष्ट्रिय महाधिवेशनमा वस्नेतले भूगोलबाट प्रतिनिधि भएरै छाड्ने अड्डी लिएपछि अन्तिममा रमेश पोखरेल ‘ब्याक’ हुनुपरेको थियो । सो बेला सर्वसम्मत प्रतिनिधिहरु चयन गरिएको थियो । मतदान नहुने भएपछि उनी भूगोलबाटै गएका थिए ।