काेशी प्रदेश सरकार पुनर्गठन चाँडै हुन्छ : एमाले सचिव राई

विराटनगर ७ पुस । नेकपा एमालेका नवनिर्वाचित सचिव शेरधन राईले काेशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने बताउनु भएकाे छ । यसअघि नै पुनर्गठनकाे तयारी गरिए पनि महाधिवेशन लगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने उहाँले बताउनुभयाे ।

नेकपा एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन पछि पहिलो पटक नवनिर्वाचित केन्द्रीय सदस्य जीवन घिमिरे सहित विराटनगर आउनु भएका नेता राईले पत्रकारहरूसँगकाे संक्षिप्त कुराकानीमा प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साँझेदार नेपाली कांग्रेससँग एक/दुई दिन भित्रमा छलफल हुने बताउनुभयाे ।

नेता राईले फागुन २१ मा चुनाव हुने अवस्था भए एमाले निर्वाचनमा सहभागी हुने बताउनुभयाे । सरकार चुनाव गराउने दिशामा भने नदेखिएको उहाँको भनाई छ । उहाँले भन्नुभयाे, ‘याे सरकार चुनाव गराउन बनेकै हाेईन ।’

एमाले महाधिवेशन पछि एमाले एक ढिक्का भएकाे नेताले राईले बताउनुभयाे । आन्तरिक प्रतिष्पर्धामा दुई समूह देखिए पनि त्याे अब अन्त्य भएकाे उहाँले बताउनुभयाे ।

महाधिवेशनमा पराजित भएकाहरूलाई पहिलो बैठकबाट समेट्न शुरू भएकाे बताउनुहुदै उहाँले पुस अन्तिममा वस्ने दाेश्राे बैठकले ३०१ सदस्यकाे कार्यविभाजन ताेकिने बताउनुभयो ।

विमानस्थलमा सचिव राई, केन्द्रीय सदस्य जीवन घिमिरेलाई नेता कार्यकर्ताले स्वागत गरेका थिए ।