बालकमाथि हुने यौन हिंसा बढ्दो

विराटनगर ६ पुस । विश्वभर हरेक सात बालक मध्ये एक बालक १८ वर्ष हुनु अघि नै यौन हिंसाबाट प्रभावित हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ । नेपालमा पनि बालक विरुद्ध हुने हिंसा बर्षेनी बढ्दै गएको पाईएको छ ।

भ्वाईस अफ चिल्ड्रेन (भिओसी) सँगको सहकार्यमा राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोज तलास समन्वय केन्द्र १०४ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको ‘बालकहरु माथि हुने यौन हिंसा, विद्यमान कानुनी प्रावधान र रोकथाम संवन्धि कोशी प्रदेश स्तरिय छलफल कार्यक्रममा भिओसीकी कार्यक्रम म्यानेजर कृति भट्टराईले बालक विरुद्धको यौन हिंसाको प्रस्तुतीमा विश्वमा बालकहरु हिंसामा पर्नका साथै नेपालमा पनि बालकहरु हिंसामा पर्ने गरेको तथ्य प्रस्तुत गर्नु भएको थियो ।

युनिसेफको पछिल्लो अध्ययन अनुशार विश्वभर ४१ करोडदेखि ५३ करोड बालक तथा पुरुषहरु यौन दुव्र्यवहार तथा यौन हिंसामा पर्ने गरेका छन् । अर्थात प्रत्येक ७ मध्ये १ जना बाल्य अवस्थामा यौन हिंसामा पर्ने गरेको तथ्य म्यानेजर भट्टराईले प्रस्तुत गर्नुभएको थियो । बालक विरुद्धको हिंसा बढ्दो मात्रामा भएपनि उजुरी कम पर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ बालक यौन हिंसाबाट पीडित भएको उजुरी नपर्ने, परे पनि प्रभावकारी अनुसन्धान हुँदैन ।’

नेपाल प्रहरीको साईबर ब्युरोको २०८२ को प्रसतवेदन अनुशार साईबर अपराधबाट देशभर ३५१ बालक ४२१ बालिका गरि ७७२ जना पीडित भए । कोशी प्रदेशमा मात्रै साईवर अपराधबाट ८ बालक र १८ बालिका गरि २६ जना पीडित भएको तथ्याङक उहाँले प्रस्तुत गर्नु भएको थियो । गत आर्थिक वर्षमा कोशी प्रदेशमा अप्राकृतिक मैथुनका ४, बाल यौन दुरुपयोगका १०२, बालविवाह ८ र बालबालिका विरुद्धको कसुरका ५ गरि ११९ वटा घटना भएका छन् । बालबालिकामाथि हुने यौन दुव्र्यवहारको सरकारी तथ्याङ्कमा कोशी प्रदेश पहिलो स्थानमा रहेको उहाँले बताउनुभयो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश राजनप्रसाद भट्टराईले यौन हिंसाका घटना महिला, बालिका माथि मात्रै हुन्छ भन्ने गरिए पनि तथ्याङ्कले बालक पनि पीडित हुने गरेको देखाएको बताउनुभयो । बालकमाथि यौन हिंसा हुँदैन भन्ने मान्यता गलत भएको उहाँको भनाई छ । उहाँले अनुसन्धान विना कानुृन निर्माण गर्ने र कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकी रहेको बताउनुभयो ।

नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी ज्ञानेन्द्र फुयाँलले बालक हिंसाका घटना बढ्दो मात्रामा रहेको बताउनुभयो । मानसिक समस्या भएका पीडकहरुबाट पनि बालकमाथि यौन हिंसा हुने गरेको अध्ययनका क्रममा पाईएको उहाँले बताउनुुभयो । उहाँका अनुशार यौन हिंसाबाट चालु आर्थिक वर्षको मंसिर सम्म ४१ जना बालबालिका पीडित भएका छन् । गत बर्ष सो संख्या एक सय रहेको एसएसपी फुयाँले बताउनुभयो । भिओसीका कार्यकारी निर्देशक कृष्ण थापाले २०५२ सालमा बाल यौन दुव्र्यवहार भएको भनेर पहिलो पटक उजुरी गर्दा २ जना पीडत बालकसँगै आफु पनि २ दिन जेल बस्नु परेको अनुभव सुनाउनुभयो ।

बालकमाथि यौनदुव्र्यवहार हुन्छ भन्ने मान्न नचाहने पहिलेको परिपाटीमा सुधार हुँदै गएको उहाँले बताउनुभयो । एशियामा नेपालको कानुन अग्रस्थानमा रहेको समेत उहाँले बताउनुभयो । यौन हिंसाबाट ५० प्रतिशत बालक पीडित हुने गरेको उहाँको भनाई छ । बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध नीलो छाता अभियान चलाईएको थापाले बताउनुभयो ।

उच्च सरकारी वकिल कार्यालय विराटनगरकी सहायक न्यायाधिवक्ता विजया नेपालले बालिकाको तृुलनामा बालकहरु पीडित भएको उजुरी कम पर्ने गरेको बताउनुभयो । सिविन विराटनगरका प्रमुख बासु अधिकारीले यौनहिंसामा परेका बालबालिका मानसिक समस्या बढी हुने गरेको पाईएको बताउनुभयो ।

गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्माले घरपरिवार बाटै बालबालिका पीडित हुने गरेको बताउनुभयो । उहाँले बालगृहहरुमा पनि हिंसा हुने गरेको बताउनुभयो । बालअधिकार परिषद् बालबालिका खोज तलास समन्वय केन्द्र १०४ कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले कोशी प्रदेशमा बालबालिका हराउने घटनापनि बढ्दो मात्रामा रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८१–०८२ मा ८६९ जना बालबालिका हराएकोमा ७७७ जना फेला परेको बताउनुभयो । ९२ बालबालिका अझै पनि हराईरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय जनगणना अनुशार कोशी प्रदेशमा ७७.२ प्रतिशत बालबालिका आफ्ना बुवा आमासँग रहेको र बाँकी बालबालिका अन्य व्यक्तिहरुको संरक्षणमा रहेका छन् । समन्वय अधिकृत अधिकारी अनुशार कोशी प्रदेशका ३४९ बालक र ३७५ बालिकाहरुले घर सम्हालेर बसेको बताउनुभयो ।

नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयको वार्षिक तथ्यांक अनुसार ०७७ मा ९० जना बालकहरू यौन हिंसाबाट प्रभावित थिए भने ०७८ मा ९३ जना बालकहरू यौन हिंसाबाट प्रभावित थिए । यस्तै ०७९ मा ३४ जना बालक यौन हिंसा तथा दुव्र्यवहारमा परेको उजुरी दर्ता भएको छ । यसैगरि ०८० मा ३३ जना र ०८१ मा १९ जना बालकहरू यौन हिंसा र दुव्र्यवहारमा परेको उजुरी प्रहरीमा परेको थियो ।