स्वास्थ्य पुनर्स्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया

विराटनगर ८ असाेज । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेश समितिको आयोजनामा स्वास्थ्य पुनर्स्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज विराटनगरमा सरोकारवालाहरूसँग अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य पुर्नस्थापना र पहुँचको विषयमा छलफल गर्दै अन्तरक्रिया सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य पुर्नस्थापनाको विषयमा तीन तहको सरकारले जिम्मेवारी वहन गर्नु पर्ने बताउनु भएको थियो ।

मन्त्री राईले प्रदेश सरकारले प्रदेशको १३७ पालिकामानै अपङ्गता भएका व्यक्तिका लागि विभिन्न तवर बाट काम गर्दै आएको र आगामी दिनमा समेत सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने बताउनु भएको थियो ।
सामाजिक  विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले प्रदेश सरकारले प्रदेशका १३७ पालिकामै अपाङ्गता भएका व्यक्तिका लागि फिजियोथेरापी र ओपिडी सेन्टर सञ्चालन गरिरहेको जानकारी दिनु भएको थियो ।

बरालले मन्त्रालयले निर्माण गर्ने अपाङ्गता सम्बन्धी नीति तथा कार्यविधिमा सरोकारवालासँग समन्वय गरेर अघि बढिरहेको बताउनु भएको थियो ।
राष्ट्रिय अपांग महासंघ काेशी प्रदेश अध्यक्ष  नविन चन्द्र ढुंगेलले कोशी प्रदेशमा ११, ७०० जना अपाङ्गता भएका व्यक्तिलाई कुनै न कुनै किसिमको स्वास्थ्य पुनर्स्थापनाको आवश्यक्ता रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

ढुंगेलले प्रदेशमा अझै पनि ३७ % अपाङ्गता भएका व्यक्तिको निशुल्क स्वास्थ्य बिमा गर्न बाकीँ रहेको तथ्याङ्क समेत प्रस्तुत गर्नु भएको थियो ।

महासंघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमलाई युएसएआडी , ह्याण्डीक्याप्ड इन्टरनेसनलको सहयोग रहेको   थियो ।