यूवा विदेशमा मर्न तयार भयो, यहाँ बस्न मञ्जुर भएन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

विराटनगर ९ माघ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक नेतृत्वका कारण यूवाहरु विदेश पलायन भएको बताउनु भएको छ । देशको अवस्थाका कारण यूवाहरु विदेशमा मर्न तयार भएको उहाँले बताउनुभयो । पूर्वप्रधानन्याधिश श्रेष्ठले भन्नुभयो,‘ रुस–युक्रेन युद्धमा यूवाहरु मर्न तयार भए, तर यहाँ बस्न मञ्जुर भएनन् ।’ यसको जवाफ राज्य संयन्त्रले दिनु पर्ने उहाँले बताउनुभयो । सरकार दिन गन्तीमै व्यस्त भएको श्रेष्ठको आरोप छ । उहाँले भन्नुभयो,‘ सरकार मेरो कति महिना भनेर गनेर बस्दैमा फुर्सद छैन ।’

विराटनगरमा पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले आज आयोजना गरेको सम्मान कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मुलुकको प्रजातन्त्र हेर्नका लागि दलहरुभित्रको आन्तरिक प्रजातन्त्र हेरे पुग्ने बताउनुभयो । नेपालमा अहिले नेताले जितेको र जनताले हारेको प्रजातन्त्र रहेको उहाँको भनाई छ । जनताले जित्ने प्रजातन्त्र अहिले आवस्यक भएको श्रेष्ठले बताउनुभयो । प्रजातन्त्र हुन विकास आवस्यक रहेको उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ प्रजातन्त्र, विकास र कानुन मिले मात्रै सुशासन हुन्छ ।’

नेपालको राजनीति अराजनीतिक हुँदै गएको उहाँले बताउनुभयो । उहाँले सत्तामा पुग्नका लागि अपवित्र गठबन्धन हुने गरेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो,‘ गठबन्धन भनेको जात मिल्नेसँग गर्नुपर्छ, तर त्यस्तो छैन ।’

तीनै तहका सरकारले भौतिक पूर्वाधारलाई मात्रै विकास देखेको उहाँको आरोप छ । सरकारले मानव विकासलाई कहिल्यै प्राथमिकतामा नराखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ तीनै तहको सरकारले मानव अधिकारको जिम्मा लिनु पर्छ ।’ स्थानीय तहहरुले पनि मानव अधिकारका लागि थोरै भएपनि बजेट छुट्याउनु पर्ने प्रधानन्यायाधीश श्रेष्ठको भनाई छ ।