जीवन विकास लघुवित्तद्धारा १४ प्रतिशत बोनस पारित

विराटनगर २९ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले शेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ । आज संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । जीवन विकासको चुक्ता पूजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस शेयर वितरण गर्नेछ । बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिनेछ । बोनस वितरण पछि संस्थाको चुक्ता पूँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुगेको छ । साधारणसभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तीका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालन समितिलाई अधिकार दिने निर्णय पनि गरेको छ । साधारणसभा उद्घाटन गर्दै मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले लघुवित्तलाई बचाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

पछिल्लो समयमा लघुवित्तको विरुद्ध विभिन्न अभियान चलिरहेको बताउँदै उनले यस्तो समयमा सदस्य केन्द्रीत सेवा प्रदान गरेर लघुवित्तलाई जोगाउनु पर्ने बताउनुभयो । संस्थाका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडाले जीवन विकासले अघि सारेका योजनाहरूलाई जीवन विकास वादको रुपमा विकास गरेर लैजानुपर्ने बताउनुभयो । सञ्चालक सदस्य इन्द्रनारायण देव वैश्यले लघुवित्तले सुरु गरेका राम्रा कार्यलाई अघि बढाउनु पर्ने बताउनुभयो । सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठले संस्थाले सामाजिक उत्तरदायित्वसहितको राम्रा कामलाई विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । लघुवित्तको प्रवद्र्धक संस्था जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले लघुवित्तको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबै ध्यान दिनुपर्ने बताउनुभयो ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले विश्वव्यापी आर्थिक मन्दी र समुदायमा बैंक तथा वित्तीय संस्थाहरु विरुद्धको गतिविधिले गर्दा गत वर्ष चुनौतिपूर्ण रुपमा वितेको बताउनुभयो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलका अनुसार २४ जिल्लामा फैलिएको लघुवित्तमा ३ लाख ४ हजार सक्रिय सदस्य छन । ती सदस्यको १० अर्ब ३ करोड १८ लाख निक्षेप लघुवित्तमा छ । २२ अर्ब ३७ करोड १७ लाख कर्जा प्रवाह गरेको लघुवित्तले आर्थिक वर्ष २०७९÷८० मा ३४ करोड २० लाख खुद मुनाफा गरेको उहाँले जानकारी दिनुभयो ।