बैंकपनि मिटर ब्याजी हुन : डा. कोइराला

विराटनगर ६ पुस । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बैंक क्षेत्रलाई मिटर ब्याजीको संज्ञा दिनु भएको छ ।

शुक्रबारबाट विराटनगरमा सुरु भएको मोरंग ब्यापार संघ एक्स्पो २०२३ को उद्घाटनका क्रममा प्रतिनिधि सभा सदस्य समेत रहेका डा. कोइरालाले बंैकले मानिसको हैसियत हेरिकन कारोबार गर्ने गरेको आरोप लगाउनुभयो ।

मुलुकलाई कृषि प्रधान भनिएपनि बैंकले कृषकलाई निर्धारित ब्याजमा ऋण नदिइरहेको नेता कोइरालाको आरोप छ । उहाँले भन्नुभयोे, ‘बैंकपनि एउटा मिटर ब्याजी हो । कृषि ऋण निर्धारित ब्याजमा कृषकलाई दिनुपर्ने हो । तर कृषक त्यसबाट बन्चित छन् । आर्थिक हैसियत हेरिकन बैंकले कारोबार गर्ने गरेकाछन् । यो अवस्था अन्त्य हुनुपर्छ ।’
नेता कोइरालाले भन्नुभयोे, ‘१५ लाख रुपैयाको कृषि ऋण लिन बैंक पुग्ने कृषकले ऋण पाउँदैन । तर दुईचार अरब रुपैया लिन जानुस्, बैंकर्सले सोफामा राखेर चिया खुवाएर ऋण उपलब्ध गराउँछन् । एकातिर कृषिप्रधान देश भन्ने र कृषकलाई रित्तो हात फर्काउने काम अब रोकिनुपर्छ । यसविषयमा प्रधानमन्त्रीले अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरसंग बसेर छिटो निक्र्याैल गर्न आवश्यक छ ।’

नेता कोइरालाले विराटनगरको विकासमा राज्यको ध्यान नपुगेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘पञ्चायतकालमा विराटनगरलाई सधै हेला गरेको महसुस हामीले गरेका थियौ। त्यहीपनि नीजि क्षेत्रका मेरुदण्ड उद्योगी ब्यावसायीले विराटनगरलाई बचाएर राखेका थिए ।’ कार्यक्रममा मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको बताउँदै नेता कोइरालाले मुलुकभर ४० प्रतिशत सटर(पसल)हरु बन्दको अवस्थामा पुगिसकेको उल्लेख गर्नुभयो ।

नेता कोइरालाले विराटनगरको विमानस्थल, चक्रपथ निर्माण, प्रदर्शनीस्थल निर्माण, रेल आवातजावतमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीलाई विशेष ध्यान पुराउन अपिल गर्नुभयो ।