विराटनगर, ६ वैशाख । प्रदेश स्तरीय चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद ३.० एक नम्बर प्रदेशमा सम्पन्न भएको छ ।
लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए ।
फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ सेसनमा नवप्रवर्तनमा आधारित १८ ओटा स्टार्टअप तथा आईडियाले आफ्नो प्रोजेक्ट पिच गरेका थिए । जसमध्ये ७ ओटा आईडिया र स्टार्टअप ‘इन्क्युबेसन’ का लागि छनौट भएका छन् ।
जसमा फूड डेलिभरी ईकमर्श क्विकर फूड उत्कृष्ट स्टार्टअपको रुपमा चयन भएको छ भने अन्य ६ कम्पनी ट्रेड नेपाल अनलाइन, क्युरा हेल्थ, क्रिप्स मिडिया ल्याब, ब्लड कनेक्ट, हेल्लो एम्बुलेन्स, स्टेम स्किल चयन भएका छन् ।
प्रदेशबाट चयन भएका सातैओटा स्टार्टअप र आईडियालाई ‘विजनेस इन्कुबेसन’ का लागि काठमाडौं लगिने र सम्भावित लगानीकर्ताबाट लगानी जुटाउन सहयोग गरिनेछ । यससँगै डिजिटाइजेसन र विद्युतीय सुशासनको एजेण्डामाथि हुने प्रादेशिक नीतिगत बहस श्रृंखला डिजिटल प्रदेश सम्वाद पनि विराटनगरमा सम्पन्न भएको छ ।
संवादको प्यानलमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्ण कुमार लक्सम, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, पूर्वाञ्चल विश्वविद्यालयका सहायक प्राध्यापक तथा परिक्षा उपनियन्त्रक अजय कुमार शाह, पायोनियर ईलेक्ट्रोकेबल प्रालीका सीईओ अनिल सारदा, डेल्टा टेक तथा आरके गोल्छा ग्रुपकी निर्देशक एकता गोल्छा, तथा योङ माईण्ड्स प्रालीका संस्थापक डा. अभिजित गुप्ता रहेका थिए ।
कार्यक्रममा मधेस प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोको पनि उपस्थिति थियो । साथै कार्यक्रममा मदनभण्डारी पोलिटेक्निक विश्वविद्यालयका डिन डा. प्रचण्ड मान प्रधान, डुलुवा डट कमका संस्थापक निपूर्ण शाक्य, सीएसआईटी महेन्द्र मोरङका युयुत्सु बन्जरा, यार्सा ल्याबका योगेन्द्र सुवेदी, ईबिमाका प्रकाश डोटेल, राष्ट्र्रिय वाणिज्य बैंक विराटनगर शाखाका म्यानेजर अरुण ढुंगाना, उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल, मूख्यमन्त्ती तथा मन्त्री परिषद कार्यलयका सचिव कृष्ण प्रसाद सापकोटा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । संवाद सेसनमा प्रदेश १ का सूचना प्रविधि तथा ईगभर्नेन्स विज्ञ निरज दाहाल र सारथी टेक्नोसफ्ट तथा पूर्वाञ्चाल डिजिटल मिडिया टेक्नोलोजिज प्रालीका संस्थापक प्रभास आचार्यले डिजिटाइजेसनको अवस्था र कार्यदिशाका बारेमा प्रस्तुती दिएका थिए ।
गण्डकी प्रदेशबाट सुरु भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद कार्यक्रम यसअघि लुम्बिनी र मधेस प्रदेशमा सम्पन्न भईसकेको छ । बाँकी अन्य तीन प्रदेशमा पनि यो कार्यक्रम सञ्चालन हुनेछ ।