विराटनगर ८ असोज । कोशी प्रदेशमा सरकारको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
कोशी प्रदेशमा कूल जनसंख्याको ४० दशमलव ५ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएको तथ्याङ्कमा देखिन्छ । कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेकोमा ४० दशमलव ५ प्रतिशत अर्थात २० लाख ९ हजार ३ सय ३३ जनाले मात्र स्वास्थ्य बीमा गराउँदा बीमा कार्यक्रम प्रभावकारी नभएको देखिन्छ ।
सरकारले नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत सेवा प्रदान गर्ने उद्देश्य राखेको भएपनि सहज गरी स्वास्थ्य सेवा प्रवाह हुन नसक्दा २९ लाख ५२ हजार ७९ जना नागरिक स्वास्थ्य बीमाबाट कार्यक्रमबाट बाहिर छन् । २० लाख बढी जनसङ्ख्याले स्वास्थ्य बीमा गराएको भएपनि ९ लाख ७० हजार ९ सय ३३ जनाले मात्र नियमित सेवा लिइरहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले जनाएको छ । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापा गरिएको छ ।
सोखुखुम्बुमा सबै भन्दा कम स्वास्थ्य बिमित रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले बताउनु भयो । बीमा गरिएकामध्ये अति गरिब बीमितको संख्या २४ हजार २ सय ६०, ज्येष्ठ नागरिक बीमित संख्या १ लाख ९६ हजार ८ सय ३८, एचआइभी संक्रमितको संख्या ३ हजार ४ सय ६१, अति अशक्त अपाङगता भएका ४२ हजार ९ सय १७, कुष्ठरोगी संक्रमित १ हजार ४२ जना रहेका छन् । बीमा गराएकामध्ये सेवा लिने बिमितको संख्या ७ लाख ७० हजार ९ सय ३३ जना मात्र छन् ।
प्रदेशमा ७८ ओटा सरकारी अस्पताल, चार वटा सामुदायिक र २३ निजी अस्पताल गरी १ सय ६ ओटा स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य बीमाका बिमितले सेवा लिदैँ आएका छन् ।