भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दोषी देखिएकालाई कारवाहीको माग

विराटनगर १ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा दोषी देखिएका राजनीतिक दलका नेताहरुलाई कारवाहीको माग गरिएको छ ।

भ्रष्टाचार विरुद्धको नागरिक संस्था मोरङ विराटनगर संस्थाका अध्यक्ष तथा पत्रकार सम्पादक मोहन भण्डारी र संस्थाका निवर्तमान अध्यक्ष दिनेश श्रेष्ठ नेतृत्वको टोलीले आज मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकालाई कारवाही गर्न माग गरेका छन् ।

ज्ञापन पत्र बुझाउनु अघि संस्थाले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी विभिन्न माग लेखेको ब्यानर राखेर आधा घण्टा मौन प्रदर्शन गरेका थिए । पब्लिक फोरम मोरङका अध्यक्ष उत्तम ढुंगेल, उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयस प्याकुरेल, इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापा, संस्थाका सदस्य पत्रकार महाप्रसाद खतिवडा मौन प्रदर्शनमा सहभागि भएका थिए ।

मौन प्रदर्शनमा सहभागि अधिवक्ता रुपेश कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरुलाई मानव बेचविखन तथा ओसारपोसार, ठगी, सरकारी कागजातकिते र संगठीत अपराध ऐन बमोजिम कारवाही गर्नु पर्ने माग गरेको छ ।