विराटनगर १९ वैशाख । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । टियु मैदानमा आज भएको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो ।
युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । गुलसनले एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक ७५ बलमा पूरा गरेका थिए । गुलसनले भीम सार्कीसँग मिलेर चौथो विकेटका लागि ९२ रनको अविजित साझेदारी गरेका थिए । भीमले ७२ बलमा ३६ रनमा अविजित रहेका थिए । त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितीबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए । युएई ३३ दशमलब १ ओभरमा १० विकेट गुमाएर १ सय १७ रन बनायो । नेपालका लागि ललितनारायण राजवंशीले ७ दशमलब १ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान २–२ तथा गुलसन झा,सोमपाल कामीले समान १–१ विकेट लिए ।
यस उपाधिसँगै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको छ । नेपालले यस अघि सन् २००२ मा एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।