विराटनगरमा जारी मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज र जनकपुर विजयी

विराटनगर, २५ चैत । विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि राजविराज र जनकपुर भिड्ने भएका छन् ।

विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको वैजनाथपुर खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो । सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो ।

१ सय ३८ रनको विशाल रनको लक्ष्य पाएको विराटनगरले १६ दशमलव ३ बलमा सवै विकेट गुमाई ९१ रनमा सिमित भयो । दोस्रो खेलमा जनकपुरले विरगञ्जमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ७६ रनको झिनो स्कोर खडा गरेको थियोे । ७७ रनको झिनो लक्ष पछ्याएको विरगञ्जले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ७३ रनमा सिमित भयो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउने आयोजकले जनाएको छ ।