मोरङ ५ का निवर्तमान सांसद मण्डल छैठौं, जमानत जफत

विराटनगर २३ फागुन । मोरङ क्षेत्र नं. ५ बाट राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष तथा निवर्तमान सांसद योगेन्द्र मण्डल सहित १८ उम्मेदवारको जमानत जफत भएको छ ।

गत विहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ ५ बाट ७८ हजार ४४९ मत खसेको थियो ।

७ हजार ८८९ मत बदर भएको छ । कुल बदर मतको १० प्रतिशत मत नकटाउनेमा सो क्षेत्रका निवर्तमान सांसद योगेन्द्र मण्डल, एमाले उम्मेदवार मनोजकुमार अग्रवाल सहित १८ उम्मेदवार छन् ।

मण्डलले ४ हजार १९९ मत ल्याएका छन् । एमालेका अग्रवालले ६ हजार ९४५ मत ल्याएका छन् । अग्रवालले झिनो मतका कारण जमानत जोगाउन असफल रहे ।

क्षेत्र नम्बर ५ बाट रास्वपाकी उम्मेदवार आशाकुमारी झाले ३० हजार ४३४ मतसहित विजय भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५, जसपाका राजकुमार यादवले ८ हजार ७४७, नेकपाका शिवकुमार मण्डलले ८ हजार ६२३ मत ल्याए ।

राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाए । मण्डलले ल्याएको मत कुल सदरको १० प्रतिशत पनि पुगेन ।

०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका मण्डल २१ हजार ८२० मत सहित विजयी भएका थिए ।