विराटनगर २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत मोरङ ४ र ६ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । दुवै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ४ बाट सन्तोष राजवंशी र ६ बाट रुविना आचार्य विजयी भएका छन् ।
मोरङ ४ र ६ मा नेकपा एमाले, नेकपा, राप्रपा लगायतका ३१ उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।
मोरङ ४ बाट नेपाली कांग्रेसका महामन्त्री समेत रहनु भएका गुरुराज घिमिरे र नेकपाका उम्मेदवार निवर्तमान सांसद अमनलाल मोदीले जमानत जोगाएका छन् । सो क्षेत्रबाट एमाले उम्मेदवार जीवन घिमिरे,राप्रपाका माधव आचार्य सहित १६ उम्मेदवारको जमानत जफत भएको छ ।
मोरङ ४ मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो । ५ हजार २५६ मत बदर भएको छ । मोरङ ६ बाट निकटत प्रतिद्धन्दी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले मात्रै जमानत जोगाउनु भएको छ ।
एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्रकुमार राय सहित १५ उम्मेदवारको जमानत जफत भएको छ । ढकालको जमानत जोगाउनका लागि थोरै मतले पुगेन । नेकपाका रायले १ हजार ७१६ मत मात्रै ल्याउनु भएको छ ।
सो क्षेत्रबाट ८९ हजार ८४७ मत खसेकोमा ८५ हजार २३३ सदर र ४ हजार ६१६ कुल मत बदर भएको थियो ।