विराटनगर २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभरि रहेका १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्रमध्ये ४ सय ३९ मतदानस्थल र १ हजार १६ मतदान केन्द्र अतिसंवेदनशील वर्गमा परेका हुन् । ८ सय २१ मतदानस्थल र १ हजार ८ सय ६९ मतदान केन्द्रलाई संवेदनशील तथा ६ सय ४७ मतदानस्थल र १ हजार ३ सय ८५ मतदान केन्द्रलाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।
सुरक्षा विश्लेषणका आधारमा विगतका घटनाको समीक्षा, मतदाताको संख्या, राजनीतिक गतिविधि, सीमा क्षेत्रको अवस्था, भौगोलिक विकटता र सम्भावित जोखिमलाई ध्यानमा राखेर वर्गीकरण गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि तिन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल एवं तेस्रोमा नेपाली सेना परिचालन गरिनेछ ।
प्रदेशमा १४ जिल्ला र २८ निर्वाचन क्षेत्र रहेका छन् । मोरङमा सबैभन्दा बढी ६, झापामा ५, सुनसरीमा ४, इलाम र उदयपुरमा २–२ तथा ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा १–१ निर्वाचन क्षेत्र छन् ।