विराटनगर १६ फागुन । विराटनगरको मार्टर्स मेमोरियल फाउण्डेसनको अध्यक्षमा शिक्षासेवी विष्णु डंगोल नियुक्त भएका छन् । शुक्रबार विराटनगरमा आयोजित एक विशेष कार्यक्रमका बीच नवनियुक्त अध्यक्ष डंगोलको पदस्थापन गरिएको हो ।
अध्यक्षमा नियुक्त डंगोल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङका उपाध्यक्ष समेत हुन् । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय डंगोलको नेतृत्वमा फाउण्डेसनले विराटनगरमा नयाँ शैक्षिक योजना अघि बढाएको छ ।
फाउण्डेसनले आगामी नयाँ शैक्षिक सत्रदेखि विराटनगरमा ‘मार्टर्स मेमोरियल प्लस टु’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । ३१ जना सञ्चालकहरू संलग्न रहेको यस कलेजलाई विराटनगरकै नमुना शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको छ ।
विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने संकल्पका साथ करिब ७ करोड रुपैयाँको लगानीमा यो परियोजना अघि बढाइएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । उनका अनुसार विराटनगर–१०, निलसदन दक्षिणस्थित साढे ५ कट्ठा जग्गामा कलेजको चारतले अत्याधुनिक शैक्षिक भवन निर्माण भइरहेको छ ।
‘हामी आगामी तीन महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेका छौँ,’ प्रिन्सिपल श्रेष्ठले भने, ‘यो भवन पूर्ण रूपमा वातानुकूलित (एसी) हुनुका साथै यहाँ स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशाला (ल्याब) को सुविधा रहनेछ ।’
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना हुन लागेको यस कलेजले विराटनगरको शैक्षिक गरिमालाई थप उचाइमा पुर्याउने विश्वास सञ्चालक समितिले लिएको छ ।