कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शुन्य

विराटनगर २६ माघ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि ५८ जना महिला सहित ४९४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शुन्य छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुशार ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–१ र उदयपुर–२ मा महिला उम्मेदवार छैनन् ।

ताप्लेजुङ, पाँचथर, भोजपुरमा एउटा–एउटा निर्वाचन क्षेत्र छ । ताप्लेजुङमा १३ जना, पाँचथरमा १५ जना र भोजपुरमा १२ जना उम्मेदवार छन् । उनीहरू सबै दलीय उम्मेदवार हुन् । कसैले पनि महिलालाई उम्मेदवार बनाएनन् ।

धनकुटामा पनि एउटा निर्वाचन क्षेत्र छ । यहाँ १७ जना उम्मेदवार छन् । यसमा १४ जना दलीय र तीन जना स्वतन्त्र उम्मेदवार छन् । सबै पुरुष उम्मेदवार हुन् ।

मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये मोरङ–२ र मोरङ–३ मा पुरुष मात्रै उम्मेदवार छन् । मोरङ–२ मा १७ जना उम्मेदवार छन् । १३ जना दलीय र चार जना स्वतन्त्र उम्मेदवार छन् । मोरङ–३ मा रहेका १८ जना उम्मेदवारमध्ये १६ जना दलीय र दुई जना स्वतन्त्र उम्मेदवार हुन् ।

खोटाङमा पनि महिला उम्मेदवार छैनन् । यो जिल्लामा एउटै निर्वाचन क्षेत्र छ र १५ जना उम्मेदवार छन् । त्यसमध्ये १३ जना दलीय र दुई जना स्वतन्त्र उम्मेदवार हुन् ।

उदयपुरमा दुई वटा निर्वाचन क्षेत्र छ । उदयपुर–१ मा १८ र उदयपुर–२ मा १३ जना उम्मेदवार छन् । दुवै क्षेत्रमा एक–एक जना स्वतन्त्र छन् भने बाँकी दलीय उम्मेदवार हुन् । उनीहरू सबै पुरुष हुन् ।

प्रमुख चार दलहरु नेपाली कांग्रेस, एमाले, नेकपा र रास्वपाले कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रहरु मध्ये १० वटा क्षेत्रमा महिलालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले झापा २ र ५, एमालेले ओखलढुङ्गा, सोलुखुम्वु र सुनसरी ३, नेकपाले झापा २ र संखुवासभा र रास्वपाले झापा १, झापा २, सुनसरी १ र मोरङ ६ मा महिला उम्मेदवार बनाएको छ ।