विराटनगर १९ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेशबाट सचिव पदमा एक दर्जन आकांक्षी देखिएका छन् । महाधिवेशनको मिति नजिकिएसँगै पदाधिकारीमा दावी गर्नेहरुको संख्या बढ्दै गएको छ ।
कोशी प्रदेशका एक दर्जन नेताहरुले सचिवमा आफ्नो आकांक्षा रहेको बताएछन् । सचिव पदका लागि स्थायी कमिटी सदस्य भीम आचार्य, शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, राजेन्द्र गौतम, लालबाबु पण्डित, अग्नि खरेल, पोलिटव्युरो सदस्य तिलकुमार मेन्याङ्बो, विशाल भट्टराई, केन्द्रीय सदस्य जीवन घिमिरे, पूर्व केन्द्रीय सदस्य विनाद ढकाल, पूर्व राष्ट्रिय सभा सदस्य परशुमेघी गुरुङले दावी गरेका छन् ।
सचिव पदमा दावी गर्नेहरु अधिकांश पार्टी संस्थापन पक्षका रहेका छन् । इश्वर पोखरेल समूहबाट कोशी प्रदेशमा सचिवको दावी गर्ने एक मात्र नेता विनोद ढकाल रहेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका हिक्मतकुमार कार्कीले सचिवको आकांक्षी रहेको बताए । उनले स्थायी कमिटी सदस्य भईसकेकाले अव पदाधिकारीमा जान चाहेका बताएका छन् ।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले सचिवको तयारीमा रहेको बताएका छन् । उनले एक दुई दिनमा उम्मेदवारीबारे निश्चित हुने बताए ।
मोरङ इन्चार्ज जीवन घिमिरेले सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । आफ्नो दीर्घ राजनीतिक अनुभव, संगठनात्मक जिम्मेवारी तथा समकालीन नेतृत्वसँगको सहयात्रालाई आधार बनाएर पार्टीको आगामी सचिव पदका लागि दाबी गरेको बताएका छन् । शंकर पोखरेल, घनश्याम भुसाल, भीम आचार्यहरूसँगै राजनीतिक यात्रा शुरु गरेको भन्दै उनले आगामी महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने बताए ।
आसन्न महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने नेता विनोद ढकालले बताएका छन् । केन्द्रीय सल्लाहकार परिषद्का सदस्य समेत रहेका ढकालले औपचारिक रुपमा केही दिनमै उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।
नेता लालबाबु पण्डितले आफ्नो उम्मेदवारी पदाधिकारीमा रहेको बताए । उपाध्यक्ष, उपमहासचिव, सचिव जुनमा भएपनि पदाधिकारीमा आफ्नो दावी रहेको उनले बताए ।
पोलिटव्युरो सदस्य तिलकुमार मेन्याङ्बोले सचिव पदमा आफ्नो दावी रहेको बताए । उनले आफ्नो दावी कायम राख्नका लागि काठमाण्डौं जाँदै गरेको बताए ।
एमालेको विधानमा १५ पदाधिकारी बनाउने प्रावधान भएकाले अध्यक्ष केपी शर्मा ओलीलाई नेताहरूको व्यवस्थापन चुनौती छ । भदौको विधान महाधिवेशनबाट ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान नहटाएको भए ओली र पोखरेल दौडबाट बाहिरिने थिए ।
ओलीले तेस्रो कार्यकालका लागि अध्यक्ष हुने चाहना राखेपछि उक्त प्रावधान हटाइएको थियो । विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ बनाएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था गरेको छ ।